समाज

सडक मजदुर अलपत्र

मोरङ- कोरोना भाइरस (कोभिड-१९)ले नेपालमा संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनबाट सर्वसाधारण मारमा पर्न थालेको छन् । लकडाउन भएदेखि काम नभएका कारण सडक निर्माणमा काम गर्दै आएका बाँकेका ७ जना मजदुर मोरङमा अलपत्र परेका छन् ।

धनकुटाको भेडेटार– पाँचथरको राँके सडक खण्ड निर्माणमा काम गर्दै आएका ७ जना मजदुरलाई समस्या भएपछि उनीहरू पैदल आफ्नो घर नेपालगञ्ज जाँदै गर्दा मोरङको मिक्लाजुङ गाउँपालिकामा अलपत्र परेका छन् । उनीहरू हिँड्दै शनिबार बिहान मिक्लाजुङ आइपुगेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका ३ जना मजदुरसँग खर्च अभाव हुँदा अलपत्र परेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । ‘उनीहरू सडक बनाउने मजदुर रहेछन्, घर जाने भनेर पाँचथरबाट हिँड्दै आज बिहान आइपुगेपछि हामीले खानाको व्यवस्था मिलाइ दियौं,’ अध्यक्ष आचार्यले भने, ‘उनीहरूसँग पैसा छैन रहेछ, गाडी भाडा ३२ हजार रुपैयाँ भन्यो, त्यो रकम हामी व्यवस्था गर्न सक्दैनौं ।’

आचार्यले भने, ‘मैले यहाँ खानासम्म व्यवस्था गर्न सक्छु बसाउन सकिँदैन । उनीहरूको स्थानीय तहका प्रमुखसँग सम्पर्क गराइदिएँ ।’ ‘नेपालगञ्जका प्रमुख र जानकी गाउँपालिकाका प्रमुखसँग सम्पर्क गर्दा गाडी भाडा तिरेर आए उनीहरूलाई लागेको गाडी भाडा दिने बताए,’ आचार्यले भने, ‘उनीहरूका ठेगेदार रतन शाहीसँग सम्पर्क गर्दा नजानु भन्दाभन्दै गएको बताए । हामीले बस खोज्ने काम गरिरहेका छौं, भेटिएपछि पठाउँछौं ।’

त्यस्तै केहीदिन अघि पाँचथरबाट भारत हिँडेका ६ जना भारतीय मजदुर लकडाउनमा परेपछि अलपत्र परेको आचार्यले बताए । उनले भने, ‘उनीहरु पुल निर्माणको मिस्त्री भएको हुँदा ‘आरडिटी’ पछि मिक्लाजुङ–३ मा निर्माण भइरहेको पुलमा काममा लगाएका छौं । यसले गर्दा उनीहरूलाई सहज भएको छ ।’

प्रकाशित: १३ वैशाख २०७७ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App