समाज

लकडाउनको ३३औं दिन : राजधानीका सडक सुनसान

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । शनिबार पनि अत्यावश्यक सेवाका सवारीसाधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर लगायतका सबै क्षेत्र बन्द छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाई गरेको छ । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।

सहरका भित्रि सडक पनि सुनसान छन् । पसलहरु बन्द रहेका छन् । तर केही अत्यावस्यक खाद्य सामग्री विक्री गर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन् ।

सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । १५ गतेपछि लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १० जनालाई निको भइसकेको छ । अहिले सम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १३ वैशाख २०७७ ०६:४४ शनिबार

लकडाउन सडक कोरोना_भाइरस कोभिड–१९