समाज

बजार बन्द गराउन पुगेका असई र हवल्दार कुटिए

जनकपुरधाम- धनुषामा बजार बन्द गराउन पुगेका असई र हवल्दार कुटिएका छन् । वटेश्वर गाउँपालिका–१ स्थित लवकुश चोकमा ठेलामा जलेवी र समोसा बेच्दै गरेका युवकलाई नबेच्न भनेपछि विवाद हुँदा वटेश्वर चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका हुन् ।

शुक्रबार बेलुका असिनापानीले भएको क्षति अनुगमन तथा विवरण संकलनका लागि वडा नम्बर १ का अध्यक्ष शेलैन्द्र महतोसँगै असई र हवल्दार यादवद्धय निस्केका थिए । त्यसै क्रममा चोकमा पुगेपछि तरकारीबजारसँगै ठेलामा जलेवी र समोसा बेचिरहेकी महिलालाई तत्काल ठेला लिएर घर जान आग्रह गरेपछि प्रहरी र ती महिलाबीच समान्य भनाभन भएको थियो ।

‘म गरिब छु । काम गरिन भने कसले खान दिन्छ भन्दै ती महिलाले प्रहरीलाई जवाफ फर्काएकी थिइन् । तै पनि प्रहरीले ठेला लान पटक पटक आग्रह गरिहरका थिए । त्यतिकैमा घरमा बनाएको थप जलेवी लिएर उनका कान्छो छोरा आइपुगे,’ एक प्रत्यक्षदर्शीले भने, ‘असइले ठेला तुरन्त यहाँबाट लग भनेपछि उनको छोरा प्रहरीको मुखमुखै लागे । अनि प्रहरीले थप्प्ड हानदिए । त्यसपछि उनको छोरा र ठेला छेउमै रहेकाहरु पनि प्रहरीमाथि जाइलागे । लगतै छेउमै रहेका ती महिलाका जेठा छोरा समेत प्रहरीलाई हान्न थाले ।’

विवाद हुन थालेपछि करिब सयभन्दा बढीको संख्यामा जम्मा भएका स्थानीयहरु समेत असई र हवल्दारमाथि कुटपिट गर्न थालेपछि असई र हवल्दार दुबैजना भागेर चोकको अर्कोतर्फ पुगेका थिए । असई यादवले घटना मिडियामा नल्याइदिन आग्रह गरे । त्यहाँ पुगेर उनी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई घटनाबारे बताएपछि प्रहरी निरिक्षक पप्पु नायक सहितको टोली अनुसन्धानका लागि पुगेका थिए ।

प्रहरीमाथि कुटपिट भएलगतै जम्मा भएका सयकडौ मानिस फरार भएका थिए । घटनाबारे अनुसन्धानका लागि पुगेका प्रहरी निरीक्षक नायकसँग प्रतिक्रिया लिँदा उनले केही घटना नै नभएको भन्दै कुटपिटको घटना लुकाउन खोजेका छन् । कुटपिट भएको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा समेत केही खबर नआएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

प्रकाशित: १२ वैशाख २०७७ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App