समाज

एक सय २१ भारतीय क्वारेन्टाइनमा

रौतहट - रौतहटको विभिन्न क्वारेन्टाइनमा एक सय एक्काइस जना भारतीय रहेका छन्। देशको राजधानी काठमाडौँबाट सीमावर्ती भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लास्थित आफ्नो घर जान हिँडेकाहरु क्वारेन्टाइनमा पुगेका हुन्।

नेपाल र भारत दुवै तिरबाट सिमानाका सिल गरिएका छन्। सीमानाका सिल भएपछि भारततिरबाट नेपाल छिर्न खोज्नेलाई भारततिरैको क्वारेन्टाइनमा र नेपालतिरबाट भारत जान खोज्नेलाई नेपालकै क्वारेन्टाइनमा राख्नुपर्ने सहमति भएको थियो।

त्यसै सहमतिअनुसार काठमाडौँबाट लकडाउन र बोर्डर सिलको अवधिमा भारत जान खोज्नेहरुालई रौतहटको विभिन्न क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्। 

भारतस्थित घर जान हिँडेकाहरुलाई रौतहटको राजदेवी, मौलापुर, यमुनामाई, ईशनाथको औरैया, राजपुर तथा गरुडाको क्वारेन्टाइनमा भारतीयहरु रहेको एसपि खड्काले बताएका छन्। सबैभन्दा बढी राजदेवी नगरपालिकाको क्वारेन्टाइनमा ४८ भारतीय रहेका छन्।

प्रकाशित: १२ वैशाख २०७७ १५:१० शुक्रबार

क्वारेन्टाइन भारतीय काेराेना