समाज

चिकित्सकलाई गाउन, मास्क र स्यानिटाइजर

हेटौँडा - वागमती प्रदेशका १३ जिल्लाका अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको पहिचान गर्ने आरडिटी किट चिकित्सकले लगाउने पिपिइ एन–९५ मास्कलगायत अन्य औषधि आज बिहानैबाट वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ।

सो केन्द्रका कर्मचारीसहित तीन टोलीले प्रथम चरणमा आज बिहानैदेखि चितवन, धादिङ र नुवाकोटमा स्वास्थ्य सामग्री वितरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी अमृत श्रेष्ठले जानकारी दिए। उनका अनुसार १३ जिल्लाका कोरोना अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयमा चिकित्सक गाउन क्रमशः  ५००, एन–९५ मास्क १० हजार, सर्जिकल मास्क २० हजार, पञ्जा सात हजार थान र आरडिटी किट एक हजार २०० र स्यानिटाइजर १०० वटा उपलब्ध गराइएको छ।

ती औषधिको प्याकेट सङ्घीय सरकार र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गरी उपलब्ध गराइएको पनि सूचना अधिकारी श्रेष्ठले बताए। त्यसैगरी १३ जिल्लाका ११९ स्थानीय तहमा बसोबास गर्ने, बाहिर जिल्लामा रोजगारी गरी आएका व्यक्तिलाई आरडिटी परीक्षण गर्न आवश्यक पर्ने किट र उपकरण र जनशक्ति स्थानीय निकायको मागबमोजिम उपलब्ध गराउँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए। दुई दिनभित्रै १३ जिल्लाको अस्पतालमा वितरण भइसक्ने जनाइएको छ। रासस

प्रकाशित: १२ वैशाख २०७७ ०७:४३ शुक्रबार

चिकित्सक बिरामी आरडिटी_किट