समाज

कोरोनाको त्रास भन्दा घर फर्किने चिन्ता

कर्णालीका विभिन्न जिल्लामा जान भनि बाँकेको कोहलपुरस्थित चौराहामा बसेका यात्रु । तस्बिर : अर्जुन/नागरिक

बाँके(कोहलपुर)- गमगढी–१ मुगुकी जनकला मल्ल उपचार गर्न भनि नेपालगन्ज आएको एक महिना भयो । तर, उनले अस्पतालमा उपचार गर्न नपाउँदै कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउनमा परेपछि उनी अस्पतालमा पुगेर उपचार गराउनै सकिनन् ।

अहिले उनी उपचार नगराएरै घर फर्किने सुरमा छिन् । ‘शरिर दुख्ने समस्या भएपछि उपचार गराउनका लागि नेपालगन्ज आएकी थिएँ, उपचार गराउन नपाउँदै बन्द भइहाल्यो, यतिदिन सम्म त आफन्त कहाँ बसे, अब चाही घर फर्किनुको बिकल्प छैन,’ कोहलपुर चौराहामा भेटिएकी जनकलाले भनिन् ‘बरु घरमै पुगेपछि सुरक्षित भएर बस्न पाइन्थ्यो ।’ आफूलाई कोरोना भाइरस भन्दा घर पुग्ने चिन्ताले सताएको उनी बताउँँछिन् । ‘सरकारले के–के नै ब्यवस्था गरेका छौं भनेर भन्छ, तर हाम्रो लागि खै अहिलेसम्म कुनै ब्यवस्था छैन, औषधि गर्न मुगुबाट आएको मान्छे फर्किन बाध्य भएको छु,’ जनकलाले थपिन् ।

उपचारकै शिलशिलामा कोहलपुर आएकी मुगु निवासी पुजादेवी पनि घर फर्किने सुरमा छिन् । तर, घर फर्किनलाई गाडी पाउन मुस्किल छ । लकडाउन हुनु भन्दा अगाडी नै उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डिस्चार्ज भएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएकी पुजादेवी घर फर्किन नपाउँदै देश लकडाउन भयो । करिव एक महिनासम्म आफन्तकहाँ बसेकी उनी अब जसरी भएपनि घर फर्किन चाहन्छिन् । घर फर्किने भन्दै गाउँका अन्य ब्यक्तिसहित बिहीबार दिनभर कोहलपुर चौराहामा गाडी कुरेर बसिन् ।

तर, गुमुसम्म सिधैं पुग्ने गाडी उनले पाइनन् । ‘औषधि गर्न यहाँ आएको एक महिनाजति भयो, लकडाउन भएपछि यतै आफन्तको घरमा बस्यौं, तर आफन्त कहाँपनि अब बस्न सम्भव नभएपछि घर फर्किन बाध्य भएकी छु,’ उनले भनिन् । कोहलपुर चौराहामा अचेल कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला जाने पैदल यात्रु भेटिन्छन् । रोजगारी, उपचार र पढ्ने शिलशिलामा बाहिर रहेका ब्यक्ति घर फर्किने गरेका हुन् । बच्चा, बृद्ध र बिरामी अवस्थामा रहेका उनीहरुको अवस्था विजोग देखिन्छ ।

यात्रुलाई निःशुल्क खाना
अलपत्र यात्रुका लागि कोहलपुर चौराहामा स्थानीयले निःशुल्क खाना खुवाइरहेका छन् । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ र नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ११ इकाई समितिले खाना खुवाउने गरेको हो । ब्यवसायी लक्ष्मणराज पौडेलले राजमार्गमा अलपत्र यात्रुलाई निःशुल्क खाना खुवाउन कोहलपुर नगरपालिकासँग कुरा गर्दा त्यहाँबाट सम्भव नभएपछि आफूहरुले यो काम सुरु गरेको बताए ।

चारैतिरबाट आउने यात्रुलाई यही बैशाख ४ गतेबाट चौराहामा दैनिक रुपमा खाना खुवाउन थालेको उनले जानकारी दिए । ‘चौराहामा यात्रुको विजोग देखेर सुरुमा दुई दिन जति चिउरा र भुजा खुवायौं, तर धेरैजसो यात्रुले खाना खान पाए हुन्थ्यो भन्न थाल्नु भयो, हामीले पनि सल्लाह गर्यौं, त्यसपछि चैत ४ गतेबाट नियमित रुपमा खाना पकाएर खुवाउन थालेका हौं,’ उनले भने ‘यो सबै निःस्वार्थ भावले सेवा गरेका छौं, राजनीतिका लागि होइन ।’ जवाफदेहीताका लागि मात्र आफुहरुले ब्यानर राखेको ब्यवसायी पौडेल बताउँछन् । ‘हामीले गुणस्तरिय खाना खुवाइरहेका छौं, भोली कसैलाई खानाले असर गरिहाल्यो भने हामी जवाफदेही बन्नुपर्छ, त्यसैको लागि मात्र ब्यानर राखेका हौं, मानवीय सेवालाई केही साथीहरुले राजनीतिसँग जोडिदिदाँ दुःख लागेको छ,’ उनले थपे ।

कोहलपुर चौराहामा अचेल दैनिक एकदेखि डेढ क्वीन्टलसम्म खाना पाक्छ । ब्यवसायी आफैले एक÷एक बोरी चामल, दाल संकलन गरेर सुरु गरेको ‘मानवीय सेवा’ मा अहिले सहयोगी दाता जोडिदै गएका छन् । स्थानीय समाजसेवी लुटबहादुर केसी राजमार्गमा अलपत्र यात्रुलाई अचेल निःशुल्क खाना खुवाउनुका साथै बर्दिया र सुर्खेतको सीमासम्म पुर्‍याउने गरिएको बताउँछन् । ‘राजमार्गमा लगभग दैनिक दुई हजारदेखि २५ सय जनाजति मानिसहरु आवत–जावत गर्छन्, यहाँ रोकिने मानिसहरु प्रायः खाना खाएर जान्छन्, दैनिक डेढ क्वीन्टलसम्म खाना पाक्छ,’ उनले भने ‘हाम्रो यो अभियानमा अहिले धेरै दाताहरु जोडिनु भएको छ ।’

खाना खुवाउँदा सामाजिक दुरी कायम गर्ने गरिएको र साबुन पानीले हातधुने ब्यवस्था गरिएको केसीले बताए । मानव सेवा गर्दा प्रहरी, प्रशासनले अनेक टर्चर गरिरहेको उनको गुनासो छ । ‘हामीले चुनाको घेरा लगाएका छौं, प्रत्येक ब्यक्तिलाई घेरामा राखेर खाना खुवाउँछौं,’ उनले भने ‘राजमार्गमा भोकै आएका ब्यक्तिलाई दिनरात नभनेर सेवा गरिराखेका छौं ।’ भोकले रन्थनिएका यात्रु कोहलपुर चौराहामा आएपछि थोरै भएपनि राहत महसुस गर्छन् । राप्तीसोनारी गाउँपालिकाले बाँके र दाङको सीमाक्षेत्र शिवखोलाबाट ल्याएर पैदल यात्रुलाई कोहलपुरसम्म पुर्‍याउँदै आएको छ ।

सिन्धुपाल्चोकबाट आइपुगेका जुम्ला, चन्दननाथ निवासी खेमनारायण पौडेलले राजमार्गका विभिन्न ठाउँमा खाना खान पाउँदा खुसी लागेको बताए । ‘सरकारले आफ्ना जनतालाई जहाँ छौं, त्यतै बस्न भन्यो, तर केही ब्यवस्था गर्न सकेन, बाध्य भएर घर फर्किन बाध्य भयौं,’ उनले भने ‘सरकारले गर्न नसकेपनि बाटोमा निःशुल्क खाना खान पायौं, सिन्धुपाल्चोकबाट फर्किदा बाटोमा गैडाकोट र कोहलपुर चौराहामा खाना खान पाएको यात्रु पौडेलले सुनाए ।

कोरोना भाइरसको त्रासभन्दा घर पुग्ने चिन्ताले आफूलाई सताएको उनले बताए । ‘हिड्ने बटुवालाई खान दिनु यो नै पवित्र काम हो, जुनसुकै राजनीतिक दलले गरोस्, यस्तो बेलामा जसले सक्यो सेवा गर्ने हो, राजनीतिक विवाद गर्ने होइन,’ उनले थपे ।


 

प्रकाशित: १२ वैशाख २०७७ ०६:४६ शुक्रबार

राजमार्ग यात्रु कोरोना कोभिड_१९