समाज

अमेरिकन फौजी किराको प्रकोप, बाली उपचार सुरु

दिक्तेलको नोभेमा मकैमा फैलिएको अमेरिकन फौजी किराको निरीक्षण गर्दै कृषि प्राविधिक । तस्बिर : नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फैलिएको अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोप नियन्त्रणका लागि विषादि छर्कन थालिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका विभिन्न स्थानमा लगाइएको मकैमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादि हालेर बाली उपचार सुरु गरिएको हो ।

ईमामेक्टिन वेन्जोएट, बिटि (मिन्चुप्लस), मल्टीनिम (एजाडिराक्टिन) लगायतका विषादि ल्याएर दिक्तेलको नोभे, खाल्लेको बाँसबोटे, खाल्लेसेराको बार्‍हबिसे लगायतका स्थानमा लगाइएको मकै बालीमा छर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर १ बाट विषादिसहितको विज्ञको टोली आएपछि बैसाख ९ गते दिक्तेलको नोभेमा स्थलगत निरीक्षण गरिएको थियो । बिहीबार अमेरिकन फौजी किरा नियन्त्रण गर्ने विषादिसहित ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादव नेतृत्वको टोली खाल्ले पठाइएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताए । ‘किसानको गुनासो आए अनुसार बैसाख ८ गते आवश्यक विषादि आइपुगेको छ,’ निमित्त प्रमुख राईले भने, ‘हाल किसानलाई विषादि वितरणका साथै विषादि हाल्ने विधि सिकाइरहेका छौँ ।’ खेतमा देखिएको अमेरिकन फौजी किरा क्रमशः बारीका मकैमा सर्ने त्रासमा किसान चिन्तित छन् ।

अमेरिकन फौजी किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले आकस्मिक प्रकोप सहयोग कोष कार्यक्रम अन्तरगतको ६२ हजार ५ सयबाट १० ग्रामको १ हजार २६० प्याकेट ईमामेक्टिन वेन्जोएट खरिद गरेर ल्याएको छ । यस्तै, बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर १ बाट बैसाख ८ गते १० ग्रामको २ सय प्याकेट र ५० ग्रामको १६० प्याकेट ईमामेक्टिन वेन्जोएट, सय एमएलको २५ बोत्तल बिटि (मिन्चुप्लस) र एक थान अल्ट्रापवर स्प्रेयर आइपुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताए । विभिन्न स्थानका खेतमा लगाइएको मकैमा अमेरिकन फौजी किरा फैलिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मकै जोन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि आवश्यक विषादि व्यवस्था गरेको जनाइएको छ ।

्बाँसबोटे आसपासका ७० किसानले लगाएको करिब तीन सय रोपनी खेत र खाल्लेसेराको बार्‍हबिसे खेतमा २० किसानको करिब दुई सय रोपनी जग्गामा लगाइएको मकै बाली फौजी किराले सखाप बनाएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए । यस्तै, नोभेको करिब २५० रोपनी भन्दा बढि क्षेत्रमा लगाइएको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको नगरपालिकाका कृषि प्रशार अधिकृत धमेन्द्र कलौनीले बताए ।

अमेरिकन फौजी किरा नियन्त्रणका लागि हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले पनि विषादि गरिद गरेको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष अमेरिकन फौजी किराले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका वडामा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको थियो ।

 

प्रकाशित: ११ वैशाख २०७७ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App