समाज

थप दुई जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं - बिहीबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । उदयपुर र जनकपुरमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरुमा उदयपुरका ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय किशोरमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस्तै बिहीबार नै थप दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएका हुन् । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । यो सँगै निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ । यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको उनले बताए ।

अहिले देशभरी १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन् ।

बिहीबार सार्क राष्ट्रस्तरिय स्वास्थ्य राज्यमन्त्रीहरुको भिडियो कन्फ्रेन्स भएको छ । कन्फ्रेन्समा सहभागी राष्ट्रहरुले आफ्ना अनुभव आदान प्रदान गरेका थिए । कन्फ्रेन्समा कोभिड—१९ नियन्त्रण सम्बन्धि सार्क क्षेत्रमा भएका क्रियाकलापहरुको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिकहरुको विषयमा समेत छलफल भएको थियो । नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सहभागिता जनाएका थिए ।

प्रकाशित: ११ वैशाख २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App