समाज

क्वारेन्टाइन भरिभराउ, व्यवस्थापनमा चुनौती

क्वारेन्टाइन निर्माणका लागि कर्णाली मावि परिसर सेनिटाइज गरिँदै। तस्विरःयोगेश रावल

टीकापुर - काठमाण्डौं लगायतका ठाउँबाट मानिसहरु घर फर्किन थालेपछि स्थानीय पालिकालाई व्यवस्थापनमा निकै समस्या भएको छ। एकातिर राहत वितरणको समस्या झेलिरहेका पालिकाहरुलाई दिनानुदिन घर फर्किनेको संख्या बढ्न थालेपछि टाउको दुखाई बनेको छ। 

उनीहरुले विभिन्न शैक्षिक संस्थाका भवनलाई क्वारेन्टाइन बनाएका छन। ती क्वारेन्टाइन खचाखच भरिन थालेका छन्। क्वारेन्टाइनमा रहेकाहरुलाई स्वास्थ्य जाँच मात्रै हैन खान र बस्न समेत समस्या हुन थालेको छ। 

टीकापुर नगरपालिकाले मान्छेको चाप बढेपछि थप चारवटा क्वारेन्टाइन थपेको छ। उसले राष्ट्रिय मावि बेलुवा र कर्णाली मावि सत्तीमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ भने सेती मैया चौधरी मावि झुंगा र कर्णाली मावि टीकापुरलाई तयारी अवस्थामा राखेको छ। 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार बेलुवामा ११ महिला सहित ४३ जना र सत्तीमा १६ महिला सहित ७५ जना बस्दै आएका छन। विगत चैत ११ गतेदेखी टीकापुर बहुमुखी क्याम्पस भवनामा सञ्चालनमा आएको पहिलो क्वारेन्टाइनमा भने १७ महिला सहित १६६ जना छन्। 

नगरपालिकाले हालसम्म ७० जनालाई क्वारेन्टाइनमा राखेर घर फिर्ता पठाईसकेको छ। त्यस्तै हालसम्म ३२० जनाको ¥यापिट टेस्ट र ३७ जनाको स्वाब परिक्षण गरिएको शाखा प्रमुख रावलले जानकारी दिए। उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

त्यस्तै जानकी गाउँपालिकाले समेत मान्छेको चाप बढेपछि थप दुईवटा क्वारेन्टाइन थपेको छ। उसले जनता मावि कञ्चनपुर र मोति मावि मोतिनगरको भवनमा क्वारेन्टाइन थपेको छ। उसले यसअघि सरस्वती मावि दुर्गौलीमा पहिलो क्वारेन्टाइन बनाएको थियो। गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले क्वारेन्टाइनमा हाल २ सय जना रहेको जानकारी दिए। 

उनले दिन प्रति दिन क्वारेन्टाइनमा मान्छेको चाप बढ्दै गएको बताए। ‘एक दिनमा ३०/३५ जनाका दरले मान्छे थपिएका छन’उनले भने–‘व्यवस्थापनमा निकै समस्या भैरहेको छ।’ गाउँपालिकाले अहिलेसम्म ३५ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ। 

दुई जना कोरोना पोजेटिभ देखिएको लम्कीचुहा नगरपालिकामा हाल १५८ जना क्वारेन्टाइनमा छन। उसले मोतिपुर, चिसापानी, प्रतापपुर र लम्की गरी चार ठाउँमा क्वारेन्टाइन स्थापना गरेको छ। उसले हालसम्म १७१ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाईसकेको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। उनले ती मध्येका १६ जना पुनः क्वारेन्टाइनमा फर्केको बताइन्।

प्रतापपुर क्वारेन्टाइनमा कोरोना पोजेटिभ देखिएका युवा सञ्चो भएर घर फर्किएका छन भने लम्की क्वारेन्टाइनमा पोजेटिभ भेटिएको महिलाको रिपोर्ट अझै आएको छैन। 

जोशीपुर गाउँपालिकाले २०३ जनालाई क्वारेन्टाइनमा राखेको छ। उसले विभिन्न तीन ठाउँमा क्वारेन्टाइन स्थापना गरेको छ। स्वास्थ्य शाखा प्रमुख शान्ति चौधरीका अनुसार मोहन्याल माविमा १०४, रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा ८० र जन प्रकाश मावि मुद्दीमा १९ जना बस्दै आएका छन। गाउँपालिकाले हालसम्म ३६ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ। 

स्वास्थ्यकर्मीको अभावका कारण गाउँपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेखमा किनै समस्या भैरहेको जनाएको छ। एकातिर क्वारेन्टाइन र अर्कोतिर स्वास्थ्य संस्थामा आउने आम बिरामीलाई समेत चेकजाँच गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मी निकै तनावमा काम गरिरहेका छन्। ‘अहिले त जेनतेन काम गरिरहेका छौं’ स्वास्थ्य शाखा प्रमुख चौधरीले भनिन्–‘अब यो भन्दा बढी मानिस थपियो भने काम गर्न सकिदैन।’

उता भजनी नगरपालिकाले मोहन्याल माविमा मात्रै क्वारेन्टाइन बनाएको छ। उसले त्यहाँ २३ महिला सहित १३६ जनालाई राखेको छ। स्वास्थ्य शाखा प्रमुख किर्ति विकका अनुसार १४३ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाइएको छ। उनका अनुसार नगरपालिकाले २८६ जनामा गरेको ¥यापिट टेस्ट नेगेटिभ आएको छ। 

सरकारले देशभर लकडाउन गरेको छ। तैपनि मानिसहरु कोही पैदलै त कोही विभिन्न सवारी साधन प्रयोग गरेर आईरहेका छन्। उनीहरु मध्ये कतिपयलाई जनप्रतिनिधिहरुले नै गाडीको व्यवस्था गरेर घर फिर्ता पठाईरहेका छन्। सरकारले यसरी घर फर्किएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर -यापिड टेस्ट नेगेटिभ आएपछि मात्रै घर पठाउन स्थानीय पालिकालाई निर्देशन दिएको छ। तर कतिपय पालिकाहरुले सरकारको निर्देशनको अवज्ञा गर्दै आएका छन्।

प्रकाशित: ११ वैशाख २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App