समाज

सशस्त्रद्वारा लकडाउन छिचोल्दै गहुँको बोराभित्र लुकाएर ल्याइएको लागुऔषध नष्ट

सशस्त्र प्रहरीले मंगलबार नष्ट पार्न भुँईमा खन्याएको बरामद लागुऔषधको रुपमा प्रयोग हुने वार्लेक्सका बोतल । तस्बिर : टंक/नागरिक

सर्लाही- सशस्त्र प्रहरी बल सर्लाहीले गहुँको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको लागुऔषध मंगलबार नष्ट पारेको छ । कविलासी नगरपालिकास्थित सशस्त्र प्रहरी बलको १० नम्बर गण परिसरमा लागुऔषधको रुपमा प्रयोग हुने १०० मिलिलिटर दरका ९५ बोतल वार्लेक्स नामक औषधि खाडलमा पोखेर नष्ट पारिएको हो । कविलासी नगरपालिकाका जनप्रतिनिधि, संचारकर्मी लगायतको रोहबरमा उक्त लागुऔष नष्ट पारिएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

दुई देशको कडा लकडाउनका बीच गत चैत २९ गते भारतबाट नेपाल भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट उक्त लागुऔषध बरामद गरेको थियो । भारतीय सीमा क्षेत्र नजिक मलंगवा नगरपालिका–१ भेडियाहीबाट उक्त लागुऔषध बरामद गरिएको सप्रउ श्रेष्ठले जानकारी दिए ।

नाकामा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारी नेतृत्वको टोलीले उक्त लागऔषध बरामद् गरेको थियो । ‘भारततिरबाट टाउकोमा बोरा बोकेर एक युवा आईरहेका रहेछन्, अनि नाकामा खटिएका हाम्रा सुरक्षाकर्मीले बोरामा के छ भन्दै सोध्दा गहुँ छ भनेपछि खै हेरुँ त भन्ने वितिकै ती युवा बोरा फालेर भारततर्फै भागेका थिए’, सप्रउ श्रेष्ठले भने, ‘बोरा खोलेर हेर्दा त गहुँभित्र लागुऔषधको रुपमा प्रयोग हुने ९५ बोतल वार्लेक्स नामक औषधि रहेछ ।’

त्यस्तै केही दिनअघि कविलासी नगरपालिका–२ पिपरियामा पनि ईलाका प्रहरी कार्यालय हरिपुुरको टोलीले तरकारीको बोराभित्र लागुऔषधको रुपमा प्रयोग हुने ४० बोतल कोरेक्स बरामद गरेको थियो । दुईजना चढेको मोटरसाइकलको बीचमा राखिएको तरकारीको बोराभित्र कोरेक्स बरामद भएको हो । गस्ती प्रहरीले रोकेर चेकजाँच गर्न खोजेपछि बोरा फालेर मोटरसाइकलसहित दुईजना फरार भएका थिए ।

जारी लकडाउनमा किसानलाई केही खुकुलो गर्न थालिएपछि कृषकको भेषमा लागुऔषध कारोबारी सकृय हुन थालेको र हाल सीमा क्षेत्रमा उच्च निगरानीसहित निकै कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ९ वैशाख २०७७ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App