समाज

घरमै सामाजिक सुरक्षा भत्ता

बैतडी – लकडाउनको कारण समाजिक सुरक्षा भत्ता लिने स्थानीय वडा कार्यालयसम्म जान समस्या हुने भन्दै मेलौली नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। नगरपालिकाकाका वडा कार्यालयमार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको उपप्रमुख राधा ओझाले बताइन्।

सामाजिक दुरी कायम गरेर सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्ने कार्य सुरु भएको उनले बताइन्। नगरपालिकाका ९ ओटै वडामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम निकासा गरी सबै वडाले भत्ता वितरणको काम गरिरहेको बताइएको छ।

सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई लकडाउनका बेला सहज होस् भन्नका लागि घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणको काम सुरु भएको मेलौली नगरपालिकाले जनाएको छ। घरमै स्वास्थ्य सुरक्षाका साथ वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन्। 

यस्तै सुर्नया गाउँपालिका वडा नं. ३ को कार्यालयले पनि घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ। गाउँपालिकाले दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता निकासा गरेसँगै गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष दिलाराम भट्टले बताए। घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाएपछि स्थानीयबासी खुसी भएका छन्।
 

प्रकाशित: ९ वैशाख २०७७ ०८:३६ मंगलबार

समाजिक भत्ता स्थानीय