समाज

पाल्पा रामपुरमा शारीरिक अशक्त परिवारको घरदैलोमै राहत

रामपुर- पाल्पाको रामपुर नगरपालिकामा रहेका अपाङ्गता, अशक्त परिवारलाई घरदैलोमा नै राहत वितरण गरिएको छ । कोरोना भाइरसको संक्रमणको सन्त्रासले खाद्यान्न अभाव झेलेका रामपुर नगरपालिकाका  अपाङ्गता, अशक्त परिवारलाई घरदैलोमा नै पुगेर राहत विवरण गरिएको हो । संयुक्त राज्य अमेरिका र बेलायतमा  बसोबास गर्ने टिम माया बी संस्थाले  पठाएको राहत सामग्री एक सोमबार अपाङ्गता, अशक्तको घरदैलोमा नै पुगेर बितरण गरिएको हो ।

रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष हिमाल मल्ल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कालीगण्डकी उद्यमी युवा समाज रामपुरका सचिव दिपेन्द्रप्रसाद भट्टराई, सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी लगायतको रोहबरमा वितरण गरिएको हो । कालीगण्डकी उद्यमी युवा समाज रामपुरका सचिव दिपेन्द्रप्रसाद भट्टराईले अपाङ्गता, अशक्त भएका प्रति परिवारलाई ६० किलो चामल, दुई/दुई किलो चना र दाल, एक किलो नुन, डेढ लिटर खानेतेल, दुई वटा साबुन लगायतका सामग्री वितरण गरिएको बताए ।

राहत रकम लिने रमणबहादुर रायमाझीले घरदैलोमा नै आएर राहत सामग्री उपलब्ध गराएको खुसी व्यक्त गरे । टिम माया बी संस्थाका संयोजक बिराज भट्टराईले कोरोना भाइरसले अपाङ्गता, अशक्त परिवार भोकभोकै मर्न नपरोस भनेर विदेशमा केही आर्थिक संकलन गरेर पठाएको बताए । ‘लकडाउनले सवैभन्दा धेरै मर्कामा अपाङ्गता, अशक्त परिवारलाई परेको छ । त्यसैले केही राहत होस् भनेर सहयोग गरेका हौं,’ उनले भने ।

अमेरिका तथा युकेमा कार्यरत बिराज भट्टराई, मनिषा भट्टराई, प्रतिक्षा ढकाल, हरि पराजुली, बिन्दु पराजुली, सुरज ढकालले आफुले कमाएको रकमको केही रकम विपद् परिस्थितीमा अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग वापत रकम पठाएका थिए । रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले विदेशमा बसेर पनि महामारीको समयमा अशक्त नागकिरलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गरे ।

उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले वैदेशिक रोजगारमा गएर पनि सामाजिक उत्तरदायित्व पूरा गरेर उदाहरणीय कार्य गरेको बताए ।

 

 

 


 

प्रकाशित: ९ वैशाख २०७७ ०४:१९ मंगलबार

राहत घरदैलो कोरोना_भाइरस