समाज

राहत वितरणमा भद्रगोल : कतै झडप, कतै वितरण नै स्थगन

राहत नपाएपछि सिरहाको सुखिपुर नगरपालिकामा शनिबार विपन्न वर्गका व्यक्ति आक्रोश पोख्दै।तस्बिरःमिथिलेश/नागरिक

लहान  - लकडाउनको अवधि बढाइएसँगै मजदुर तथा विपन्न वर्ग थप मारमा परेका छन्। दैनिक कमाएर बिहान–बेलुका गुजारा चलाउने ती वर्गको काम खोसिएको महिना दिन भइसकेको छ। भोकभोकै पर्ने अवस्था आइसक्दा पनि सरकारद्वारा घोषित राहत उनीहरु सबैले पाएका छैनन्, वितरणमा भद्रगोल देखिएको छ।

प्रदेश २ मा राहत व्यवस्थापन रवितरणको जिम्मा १ सय ३६स्थानीय तहलाई छ। लकडाउन लगत्तै प्रदेश सरकारले प्रदेशभरका स्थानीय तहलाई राहत वितरण गर्न १८ करोड रुपैयाँ निकासा गरेको थियो। प्रदेश सरकारले शनिबार दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ। तर अधिकांश स्थानीय तहले अझै पहिलो चरणको राहत पनि वितरण गर्न सकेका छैनन्।

संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले चैत १९ गते सबै स्थानीय तहलाई परिपत्र गर्दै तीन दिनभित्र राहतपाउने लक्षित समूह पहिचान गरी तत्काल वितरण गर्न भनेको थियो। तर तीन साता भइसक्दा पनि अधिकांश स्थानीय तहले लक्षित समूह यकिन गर्न समेत सकेका छैनन्।यस प्रदेशमा कति स्थानीय तहले राहत वितरण गरे, तथ्यांक छैन। कस्ता वर्गले पाए, स्पष्ट छैन।

प्रदेश सरकारले शनिबार दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ। तर अधिकांश स्थानीय तहले अझै पहिलो चरणको राहत पनि वितरण गर्न सकेका छैनन्।

वडास्तरबाट राहतपाउने व्यक्तिको पहिचान थालिए पनि त्यसमै समेत गडबडी भएको छ। बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले भने,‘एउटा वडाबाट ८ सय जनासम्मको नामवली आउँछ। हुनेखानेले पनि राहत सूचीमा आफ्नो नाम राख्न दबाब दिने गरेकाले राहत वितरणमा ढिलाइ भइरहेको छ।’वडाध्यक्ष र वडासदस्यमार्फत नाम संकलन हुँदाराहत पाउनवास्तविक व्यक्ति पहिचान हुने अपेक्षा गरिएको छ। त्यसविपरीत कतिपयस्थानीय तहमा हुनेखानेसमेत राहत पाउनेको सूचीमा नाम लेखाउन सफल भएका छन्। 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा ११ हजार ५ सय जनसंख्या छ। तर राहतका लागि वडास्तरबाट १४ हजार ५ सयको नामवली आयो। ‘घरधुरीको संख्याभन्दा बढीको सूची आएपछि आश्चर्यमा परें’, नगरपालिका प्रमुख शैलेश साहले भने।सबै वडालाई नामवली सच्याएर ल्याउन भनेपछि वडा नम्बर ६ र १० बाहेकले संशोधित नामवली पेस गरेको उनले बताए। ‘अहिले हामीले १२ वटा वडाका करिब छ हजार पाँच सय जनसंख्यालाई राहत बाँडिसकेका छौं’, उनले भने।

यसैबीच कतिपय स्थानमा राहत वितरणका क्रममा झडपसमेत भएको छ। आइतबार कञ्चनरुप नगरपालिका–८ मा राहत वितरणका क्रममा झडप भयो। असन्तुष्ट  समूहको आक्रमणबाट जनप्रतिनिधिसमेत घाइते भए। आक्रमणबाट वडासदस्य सञ्जय पासमानको टाउको फुटेर चारवटा टाँका लगाइएका वडाध्यक्ष राजकुमार साहले बताए। पासमानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। केही व्यक्तिको समूहले आफूलाई छुटाएको भन्दै विवाद झिकेपछि राहत वितरण नै स्थगित गरिएको छ।

गत मंगलबार सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ मा पाँच सय ३४ जनाको नामराहत सूचीमा राख्दा पनि विवाद भयो। असन्तुष्ट समूह राहत वितरण निष्पक्ष नभएको भन्दै विवादमा उत्रियो। अवस्था समान्य बनाउन प्रहरीलाई दुई राउन्ड अश्रुग्याससमेत प्रहार गर्नुप¥यो। शनिबार सिरहाको सुखिपुर नगरपालिमा ढुंगामुढा भयो। वडा नम्बर ८ का विपन्नले राहत वितरणमा ढिलाइ गरेको भन्दै नगरपालिकामा आएर आक्रोश पोखे। ढुंगामुढाबाट नगरपालिकाको भौतिक संरचनामा क्षति पुगेको नगर प्रमुख रामअवतार यादवले बताए।  

राहत सामग्रीको अनुपात तहैपिच्छे फरक

राहत सामग्रीकोअनुपात स्थानीय तहपिच्छे फरक छ। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाले प्रतिपरिवार २० किलोका दरले चामल र अन्य खाद्य सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादवले बताए। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले १५ किलो चामल र अन्य खाद्य सामग्रीसहित राहत पोका वितरण गरेको प्रमुख शैलेशकुमार साहले बताए।

‘दैनिक मजदुरीगरेर बिहान–बेलुका छाक टार्नेले लकडाउनका बेला खान पाऊन् भन्ने उद्देश्यले राहतदिन खोजिएको हो तर त्यसबाहेककाले पनि राहतको अपेक्षा गरेपछि व्यवस्थापनमा समस्याभएको छ,’ साहले भने, ‘सहीव्यक्तिको पहिचान गरी राहत वितरण गर्ने तयारीले कतैकतै ढिला हुन पुगेको छ।’

 

प्रकाशित: ९ वैशाख २०७७ ०३:०२ मंगलबार

राहत_वितरण प्रदेश_२ भद्रगोल लकडाउन