समाज

कर्मचारी खटाएर शहरमा राहत बाँड्दै गाउँपालिका

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहत दिन सुरु गरेको छ ।

काठमाडौं, बिराटनगर, धरान लगायतका जिल्ला भन्दा बाहिरका शहर बजारमा बसेर दैनिक जीवनयापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीलाई शनिबारदेखि राहत दिन सुरु गरेको हो । ‘लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई  स्थानमा पुगेर राहत उपलव्ध गराउन थालिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

याम्खाका वडासचिव सञ्जिव आचार्यमार्फत पहिलो दिन तीन जनालाई जनही पाँच केजी चामल र एक केजी दाल प्रदान गरेको गाउँपालिकाले आईतबार सात जनालाई राहत बाँडेको जनाएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि गाउँपालिकाले राहतका प्याकेज ल्याएको हो । ‘बैसाख १५ गतेसम्म धान्नेगरी राहत दिइएको हो,’ अध्यक्ष राईले भने, ‘लकडाउनको अवधि लम्बिए अनुशार सहयोग थप गर्ने छौँ ।’

विदेश जान लाग्दा ‘लकडाउन’ले काठ्माण्डौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनकाक्रममा शहर बजारमा रोकिएका पालिकाबासीका लागि समेत सो राहत प्याकेज उपलव्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तिले भने राहत पाउने छैनन् । शहरबाट जसोतसो गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पु¥याइदिने व्यवस्था मिलाइएको हो । शहर बजारमा बाँडिने राहत गाउँपालिकाबासीले नपाउने भएकाले गाउँबाट राहतसहित प्रतिनिधि पठाइएको अध्यक्ष राईले बताए । ‘नागरिकलाई लकडाउन पालना गर भनेर मात्र हुँदैन, आवश्यक राहत पनि दिन सक्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हामीले शहरमा बसिरहेका पालिकाबासीलाई लकडाउनको पालना गरेर बस्नु, बाहिर ननिस्कनु हामी कोठामै चामल ल्याइदिन्छौँ भनेका छौँ ।’

‘लकडाउन’मा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक सेवा पाए मात्र राष्ट्रिय अभियानकारुपमा रहेको ‘लकडाउन’ सफल हुने अध्यक्ष राईले बताए । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका पालिकाबासीलाई हाल बसिरहेकै ठाउँमा राहत प्राप्त गर्नका लागि कर्मचारीहरु सञ्जिप आचार्य (मो.नं. ९८२५७७४७७४/९८४२८७७४३७), ओमसरा राई (मो.नं. ९८६२८१४००९) र सुनिता राई (मो.नं. ९८२५७९५०५३) लाई सम्पर्क गरेर आफ्नो विवरण उपलव्ध गराउन आग्रह गरेको छ ।

प्रकाशित: ८ वैशाख २०७७ १६:०४ सोमबार

कर्मचारी गाउँपालिका लकडाउन