समाज

बाजुरामा भालुको आक्रमणमा परि बालक घाइते

बाजुरा- भालुको आक्रमणमा परि खप्तड छेडेदह गाउँपालिका ३ मा १२ वर्षिय बालक घाइते भएका छन् । घाइते हुनेमा पुराबाब्ला बस्ने मानबहादुर रावतका १२ वर्षका छोरा छत्र रावत रहेका छन् ।

गाउँ नजिकै पर्ने सेली जंगलमा गोरु चराउने गएको बेला भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष दिपक रावतले जानकारी दिएका छन् । मध्ये दिउँसो गोरु चराउन गएकै बेला जंगलमा भालुले आक्रमण गरी घाइते बनाएको रावतको भनाई छ ।

टाउको, मुख र शरीरका अन्य भागमा चोट लागेका बालक रावतलाई उपचारका लागि अछामको बयलापाटा लिने तयारी गरिएको छ । जिल्ला प्रशासनबाट नै अनुमति माग्नु पर्ने भएकोले प्रक्रिया पूरा गरेर बयालपाटा लिने वडा अध्यक्ष दिपक रावतले जानकारी दिएका छन् ।

प्रकाशित: ८ वैशाख २०७७ १३:३२ सोमबार

भालु आक्रमण