समाज

सात वर्षीया छोरी हत्याको कसुरमा बाबु पक्राउ

वीरगन्ज- २७ दिन अगाडि आफ्नै छोरीको हत्या गरेको आरोपमा वीरगन्ज –१ छपकैया घर भएका २९ वर्षीय सञ्जयकुमार साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । सात वर्षीया छोरी अंशुकुमारी सर्राफको घाँटी थिचेर बाबुले हत्या गरेको तथ्य खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । छोरी हत्या गरेपछि कसुरबाट बच्न सञ्जयले आत्महत्या जस्तो देखाउने बनाएको खुल्न आएको उनले बताए ।

हत्या गर्ने नियतले नभई छोरीलाई हप्काउने उद्देश्यले घाँटी थिच्दा मृत्यु भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । लकडाउन सुरु भएको दिन सात वर्षिया अंशुले घर बाहिर जान जिद्दी गरेपछि बाबु सञ्जयले बाहिर नजान भनि हिर्काएका थिए । बालिका जोडले रोईकराई गरेपछि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए । तर यसै क्रममा छोरीको मृत्यु भएपछि आतिएका सञ्जयले सजायबाट बच्नका निम्ति घटनालाई आत्महत्याको स्वरुप दिन खोजेका थिए । तर, प्रहरी अनुसन्धानमा भने घटना लुक्न सकेन ।

प्रहरीले दिएको घटना विवरण अनुसार २०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुले घरको माथिल्लो कोठामा भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो । झुण्डिरहेको अवस्थामा देखेपछि बाबु सञ्जयले त्यहाँबाट उतारी तत्कालै नारायणी अस्पतालमा पुर्‍याएको र अस्पतालले मृत घोषणा गरेको परिवारको दाबी थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको प्रनाउ शाहीले बताए ।

वैशाख ४ गते सञ्जयलाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको थियो । अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य अनुसन्धानमा पछि खुलेको थियो । सञ्जयले आफ्नो बयानमा कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित: ८ वैशाख २०७७ १२:२० सोमबार

हत्या पक्राउ प्रहरी