समाज

जुनारको किरा व्यवस्थापनमा समस्या

आइतबार असिनापानीले क्षति पुर्‍याएको सिन्धुलीको रतनचुराको जुनार बगैचा ।

सिन्धुली- कोरोना भाइरसको प्रभावका कारण सिन्धुलीको मुख्य नगदेबालीको जुनारको किरा व्यवस्थापनमा समस्या भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन गरेसँगै जुनारको किरा व्यवस्थापनमा समस्या भएको हो ।

करिब ६ वर्षअगाडी देखिनै सिन्धुलीको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नामक किराले जुनारलाई सखाप पार्न थालेपछि वर्षेनी औषधि स्प्रे गर्दै आएको र यस वर्ष लकडाउनले प्रभाव पारेको किसान बताउँछन् । जुनारको चिचिल्लामै उक्त जातको फल कुहाउने औषा जुनारमा प्रबेश गर्ने र जुनार परिपक्व हुन नदिई कुहिएर झर्ने समस्याले किसान आजित भएपछि प्रोटिन बेट नामक औषधि जुनार बगैचामा स्प्रे गर्ने गरिएको थियो ।

यस वर्ष लकडाउनका कारण उक्त प्रोटिन बेट वितरण र स्प्रे गर्न समस्या भएकाले किरा व्यवस्थापनमा चुनौती भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना(जुनार सुपर जोन) कार्यालयले जनाएको छ । जुनारको दाना लाग्ने समयमानै प्रोटिन बेट स्प्रे गर्नुभर्ने हो, यस वर्ष हालसम्म गर्न सकिएको छैन, गोलञ्जोर गाउँपालिका-४ का जुनार कृषक लोकबहादुर आलेले भने, बैशाखको पहिलोदेखि दोस्रो हप्तामा सम्पूर्ण तयारी गरि जुनारको बोटमा प्रोटिन बेट स्प्रे गर्नुपर्ने हुन्छ । उनले जुनार सुपर जोन सञ्चालक समितिले किसानबाट आधा रकम उठाइसकेको र आधार जुनार जोन कार्यालयबाट आउने अनुदानले औषधि खरिद गर्नुपर्ने भएपनि हालसम्म खरिद नभएको बताए ।

केहि वर्ष अगाडी क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू गरि फलमा किरा देखिएको जुनारको बोटमा प्रोटिन बेट नामक औषधिको प्रयोग गरिएको थियो । नमुना परीक्षणका लागि गरिएको सो औषधिनै प्रभावकारी भएपछि वर्षैनी जुनारको उत्पादन हुने क्षेत्रमा औषधि वितरण गरि स्प्रेकर्ताहरुलाई बगैचामा स्प्रे गर्न लगाइदै आएकोमा यस वर्ष औषधि खरिदनै नभएको किसानहरुले गुनासो गरेका छन् । लकडाउनका कारण कार्यालयका सम्पूर्ण कामहरु रोकिएको छ, सवारी आजावतजावत समेत भएको छैन, जुनार सुपर जोन कार्यालयका प्रमुख देबराज अधिकारीले भने, कोरोना भाइरसका कारण किरा व्यवस्थापनमा निकै समस्या भएको छ ।

‘अरुको बिग्रिए एक दिन, किसानको बिग्रिए वर्ष दिन’ भन्ने उखान नै छ, कार्यालय प्रमुख अधिकारीले भने,  किसानले कृषि कर्मको व्यवस्थापनमा जुट्नु पर्ने वाध्यता एकातिर छ भने अर्को्तिर मानव स्वास्थ्यको अवस्था र जोखिमलाई विचार पुर्‍याउनुपर्ने अवस्था कोरोनाले निम्त्याएको छ । जुनारमा लागेको किरा व्यवस्थापन गर्न सम्पूर्ण तयारी गरि बैशाखको दोस्रो हप्तासम्म प्रोटिन बेट स्प्रे गर्नुपर्ने बताए । सिन्धुली जिल्लाको जुनारमा बि.सं. २०७०/७१ देखि देखापरेको यो किराले फल उत्पादनमा निकै नोक्सानी पर्‍याएको उनले जनाए ।

जुनार कृषका लागि प्रोटिनबेट खरिद गर्नका लागि अन्तिम तयारी भएको र लक डाउनले समस्या भएको जुनार सुपर जोन सञ्चालक समितिका सचिव शुष्पा भुजेलले बताइन् । हामीले सबै स्थानीय तहका जनप्रतिनिधिसँग सवारी पासको व्यवस्था मिलाइदिन आग्रह गरेका छौ, सवारी पास भएमा औषधि खरिद गरि व्यवस्थापन गर्छौ, उनले भनिन् ।

असिनापानीले चिचिल्लामै झार्‍यो जुनार
आइतबार साझ परेको असिना पानीले जुनार सखाप पारेको छ । जुनारको चिचिल्लामै ५५ प्रतिशत बढी जुनार झारेको जुनार कृषक निर्मल रम्तेलले बताए । जुनारको मुख्य उत्पादनको क्षेत्र मानिएको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, लगायतका स्थानमा असिनापानीले जुनार सखाप पारेको जुनार उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका रम्तेलले बताए ।

जुनारमा असिना पानीले बर्षेनी क्षति गर्दै आएको छ, जुनार सुपर जोनका कार्यालय प्रमुख देबराज अधिकारीले भने, कति झर्‍यो भन्ने तथ्याङक एकिन गर्न सकिएको छैन । उनले कृषकले अब जुनारको पनि बिमा गर्नुपर्ने अवस्था आएको बताए


 

प्रकाशित: ८ वैशाख २०७७ ११:२६ सोमबार

किरा_व्यवस्थापन कोरोना_कहर