समाज

पाँचथरमा तरकारी आयातमा रोक, रातको समयमा नाका सिल

फिदिम - कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ। जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन,सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो। 

प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए। झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले बताए। 

यस्तै जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ। रातको ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका नाकाहरु राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले बताए। नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ। रासस

प्रकाशित: ८ वैशाख २०७७ ०२:४४ सोमबार

कोभिड सङ्क्रमण आयात