समाज

लुकीछिपी नेपाल पस्ने क्रम रोकिएन

बुटवल- नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएपनि भारतबाट लुकीछिपी नेपाल आउने क्रम अझै रोकिएको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मात्रै पछिल्लो एक सातामा लुकिछिपी नेपाल पसेका ८ जना भारतीयलाई क्वारेन्टाइन पठाएको छ ।

उनीहरु रुपन्देहीकै धकधही र नवलपरासीको ठुटीबारी क्षेत्रबाट नेपाल पसेका थिए । तीलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले लकडाउनका बेला लुकेर आएकामा नेपालमै मजदुरी गर्ने भारतीय नागरिक रहेको बताए । ‘नेपालमै लामो समय काम गरेको र आफ्नो परिवार यतै भएकाले रातको समयमा लुकेर आएको ती व्यक्तिहरुले बताएका थिए’ नगरप्रमुख घिमिरेले भने । लकडाउन कडा पारीएको भनिएका बेला लुकेर आएका ती भारतीय नागरिकबारे स्थानीयहरुले नगरपालिकालाई खबर गरेपछि नगरले सुरक्षाकर्मीहरुको सहायतामा क्वारेन्टाइन पठाइएको हो । आठै जनाको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको नगरप्रमुख घिमीरेले जानकारी दिए ।

भारतीय नागरिकहरु नै लुकिछिपी बस्ती पस्न थालेपछि स्थानीय तहहरुलाई लकडाउन कार्यान्वयनमा चुनौती थपीएको छ । नेपालमा लुकिछिपी बसेका भारतीय नागरिकमा कोरोना संक्रमण भएका खबर आइरहेका बेला सीमापारीबाट लुकेर आउने क्रम नरोकीदा स्थानीय त्रसित छन । तिलोत्तमा नगरपालिकाले टोल छिमेकमा केही नयाँ व्यक्ति देखिए तत्काल जानकारी गराउन नगरबासीलाई आग्रह गर्दै टोलफ्रि नम्बर राखेको छ ।

तीन दिनअघि रुपन्देहीकै कक्रहवा आसपासबाट नेपाल पसेकी एक जना भारतीय महिलालाई पनि लुम्बिनीका स्थानीयले नियन्त्रणमा लिएर नजिकको क्वारेन्टाइनमा पठाएका छन् । चार दिन अघि रुपन्देहीकै पडेरीया क्षेत्र हुँदै दुई जना भारतीय नागरिक नेपाल पसेका थिए । आफूहरुलाई पञ्जाव प्रान्तका बताउने २५ र २९ वर्षका ती दुई युवक नाका क्रस गरेर सैनामैना नगरपालिकासम्म आइपुग्दा बल्ल स्थानीयको नजरमा परे । भारतीय मुलका नचिनेका युवा देखिएपछि स्थनीयले तत्काल नगरपालिकालाई खबर गरिदिए । अहिले उनीहरु सैनामैनाकै क्वारेन्टाइमा छन् । उनीहरुमा कुनै स्वास्थ्य समस्या नदेखिएको क्वारेन्टाइनका इन्र्चाज तथा जनश्वास्थ्य निरीक्षक हेमराज पन्थीले बताए ।

भारतको दिल्लीमा भएको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेका दुई जना नवलपरासीको सुस्ता हुँदै चैत ३० गते नेपाल पसेका थिए । भारतबाट हिँडेरै सुस्ताको बाटाृ हुँदै नेपाल पस्नेमा सुनसरी इनरुवा नगरपालिकाका कपडि बस्ने ६५ वर्षे अब्दुल मिया र सलमान मिया भएको बताइएको छ । उनीहरुलाई सुस्ताबासीले गाउँमा हिडीरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइ दिए । सुस्ता गाउँपालिका वडा न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले उनीहरुलाई भारतीय सुरक्षाकर्मीले नै नेपाल पस्न सहयोग गरेको बताए ।

दिल्लीको सो सभामा सहभागी भएकाहरु अहिलेपनि रुपन्देही र नवलपरासी र कपिलवस्तुको सीमा क्षेत्रका मस्जिदमा लुकेर बसेको आशंका स्थानीयले गरेका छन् । भारत तर्फ पनि सिमा नजिकको मस्जिदमा लुकेर बसेको र नेपाल प्रवेश गर्न खोजीरहेको आशंका सीमाका स्थानीयको दावी छ ।

नेपालगञ्ज नाकाबाट लकडाउनपछि नै नेपाल प्रवेश गरेका तीन जना भारतीय नागरिक शुक्रबार पैदलै नवलपरासीको बर्दघाट आइपुगेका थिए । उनीहरुले आफूहरु भारतीय भएको र लकडाउनपछि नै लुकेर नेपाल पसेको बताएपछि बर्दघाट प्रहरीले रोकेर शसस्त्रको जिम्मा लगाइदियो । तर शसस्त्र प्रहरीले उनीहरुलाई तत्कालै छोडीदिएको प्रहरी र केही स्थानीयले नागरिकलाइ बताए । ती भारतीयले प्रहरीलाई बिरगञ्ज जान हिँडेको बताएका थिए ।

विशेषगरी नवलपरासी, कपिलवस्तु, रुपन्देही र नेपालगञ्जको खुल्ला सीमाबाट रातसाँझको समयमा नेपालमा मजदुरी गर्ने भारतीय प्रवेश गरीरहेको सम्बन्धित क्षेत्रका स्थानीयको गुनासो छ । त्यस्तै भारतबाट आउने मालबाहक गाडीमा पनि अवैध रुपमा नेपालमा मजदुरी गर्ने भारतीयहरु आइरहेको स्थानीयको दावी छ ।

प्रदेश नं. ५ मा पूर्वमा नवलपरासीको सुस्तादेखि पश्चिममा बर्दिया–चिसापानी कर्णाली पुलको सिमानासम्म ३८५.२ किलोमिटर खुल्ला सीमा छ । सो सीमाक्षेत्रमा अहिले नेपाल प्रहरीका ६ हजार बढी खटिएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्ष नवराज पोखरेलले जानकारी दिए । सीमामा यतीकै संख्यामा सशस्त्र पनि खटिएका छन् ।

५ नं. प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपि नरबहादुर केसीले सीमा नाकासंगै आन्तरिक लकडाउनको पूर्ण कार्यान्वयनका लागि सुरक्षा निकाय गम्भीर ढंगले लागेको दावी गरे । ‘नवलपरासी, रुपन्देही र कपिलवस्तुको सीमामा खोला, जंगल क्षेत्रबाट केही व्यक्तिहरु प्रवेश गरेको भन्ने सूचना पाएलगत्तै तीक्षेत्रमा कडा निगरानी बढाइएको छ । अब कोही पनि पस्न पाँउदैनन्’ प्रदेश प्रहरी प्रमुख केसीले भने ।

प्रकाशित: ७ वैशाख २०७७ १५:३१ आइतबार

नेपाल_भारत_सीमा क्वारेन्टाइन लकडाउन