समाज

७७ वर्ष अगाडिको त्यो महामारी, 'शव डोरीले घिसार्दै गाडिन्थ्यो'

धेरै महामारीको सामना गरेका ८७ वर्षिय नन्दलाल पोख्रेल । तस्बिर : दिनेश/नागरिक

रोल्पा- ‘रोल्पाका बिभिन्न गाउँहरुमा हैजा फैलियो । वरपर चारतिर छिमेकमा मान्छे मर्न थाले । जंगल तिर भागाभाग भयो । बि.स. २००० सालको बैसाख, जेठ महिना तिर मेरी आमा पनि बित्नु भो । गाउँहरुले सबै भागे । मामाहरु पल्लो गाउँ पेदिखोलाबाट आएर बारीको कान्ला मुनि खाल्डो खनिदिएर उतैबाट फर्किनु भो । बुवाले मेरी आमाको कम्मरमा नाम्लोको डोरीले बाधेर घिसार्दै खाल्डोमा लगेर पुर्नु भयो ।’ रोल्पा नगरपालिका १ मेवाङका ८७ वर्षिय नन्दलाल पोख्रेलले विगतको महामारीको कथा सुनाए ।

त्यतीबेला १० वर्षका नन्दालाल बुवाले आमाको शव घिसारेको दृष्य झ्यालबाट हेरेको आज पनि सम्झना आउने बताउँछन् । ‘गाउँ छिमेकमा हैजा लागेर पानी पानी भन्दै मान्छे पल्टेका हुन्थे । बिरामीलाई पानी दिनु हुन्न भन्ने धारणा पनि थियो । पानी दिनै परे पनि गिलासमा सारेर खान दिने हिम्मत कसैमा हुन्नथ्यो । उतिबेला धेरै बिरामी त पानी नै खान नपाएर मर्थे ।’ हैजा छल्न माथि जंगलमा छाप्रो बनाएर बसेका स्थानीय बृद्धहरु आज पनि बिगत संझेर तर्सिने गर्छन् ।

‘आमालाई हैजाले लग्यो । साल त बिर्से अलि पछि हो बुवालाई सोत्रे ‐ज्वरो)ले अनि जेठो दाईलाई पनि हैजाले नै लग्यो । अलि पछि कान्छो भाईलाई दादुराले लग्यो । साहिलि दिदीलाई बिफरले निकै दुख्ख दिएर लग्यो ।’ बिगतमा आएका बिभिन्न महामारीले आफन्त गुमाएका नन्दलाल त्यो समयमा धेरै घरमा अपुताली परेको बताउछन । ‘धेरैका घरमा दादुराका कारणले छोरा छोरी सबै मरे । अपुताली पर्ने भए पछि उहिलेकाले धेरै छोरा छोरी जन्माउथे ।’

बाजे औलोले मरेको भन्ने सुनेका उनका तिन भाई बुवाहरु मध्य जेठो र कान्छोलाई पनि महामारीले नै लगेको नन्दलालले बताए । ‘सस्कार र सस्कृती सबै भुलेर अन्तेष्टी गरिन्थ्यो । लाश जलाउनु पर्ने हाम्रो चलन भए पनि खाल्डो खनेर गाडिन्थ्यो ।’ बिगत निकै तितो भएको बताउने नन्दलाल भन्छन ‘निकै बर्ष पछि घडेरी खन्दा आमाको हड्डी भेटाए । सबै जम्मा गरेर जलाए अनि कपाल फालेर बिधि पुर्बक आमाको किरीया गरे । आमाको तिथि थाहा नभएका कारण बुवाको तिथिमा मिसाएर श्राद्ध गर्ने गरेको छु ।’

पाँच छोरी, दुई छोराका बाबु नन्दालका अनुसार उहिले समय समयमा हैजा, बिफर, दादुराले सताउने गरेको बताउँछन् । ‘हैजा लाग्दा भने धामि झाक्रि बस्दैनथे । अरु रोगमा धामिको भर हुन्थ्यो । हैजा धेरै समय टिक्दैनथ्यो तर निकै मान्छे मार्ने गर्दथ्यो ।’ नन्दलाल सुनाउछन ‘जन्डीस लाग्दा धामिले बाख्रो काट्न लगाएर खाने खुवाउने गर्थे अहिले पो थाहा भयो अनि छिटै मान्छे मर्ने रैछ ।’

कुनै बेला टिबि र कुष्ठरोगले पनि आतंक मच्चाएको देखेका नन्दलालका अनुसार ति बिरामीहरु पनि सामाजीक तिरस्कारमा पर्ने गर्दथे । ‘कोर लागेकालाई गाउँ भन्दा पर छाप्रो बनाएर बसाउथ्यौ । बिचराहरु कुहिएर हत्ते पाएर मर्थे । के गर्नु उपचार थिएन ।’ हैजाले बुटवल गएका दाई उतै मरेपछि लाश कौवा गिद्धले खाएको बताउने उनि कोईलावास नुन लिन जादा बाटोमा कोहि मर्यो भने उतै छोडेर अगाडी बढ्ने गरेको बताउछन । ‘महामारीमा मर्नेको लाश कहिल्यै उठेन । जहाँ मर्छ त्यहि छोडेर हिड्ने हो । कौवा गिद्धले खान्थे सकिन्थ्यो ।’

अहिलेको जस्तो क्वारेन्टाईन भन्ने उहिले पनि भएको बताउने नन्दलालका अनुसार महामारी फैलियो भने एक्लै वा आफ्नो परिवार मात्र अलग्गै बस्ने चलन थियो । कुष्ठरोगीलाई त पुरै कडा आईसोलेसनमा राखिन्थ्यो । ठुला साना धेरै महामारी छलेर ७८ बर्ष पुगेका उनि अब रोग छैन, डाक्टर पनि छन, के ले लैजाला र भनेको नयाँ रोग आए पछि दिक्क बनेका छन । ‘कोरोना संग म डराएको त छैन । तै पनि सरकारले भने जस्तै घरमा बसेको छु ।’ उनले भने ‘सबै सुबिधा भएर पनि कोरोनाले सारा मुलुकलाई तर्साएको छ । हेरौ यतिका महामारी त छलियो यसले के गर्दो रै छ ।’

नन्दलालका अनुसार उहिलेका महामारीको अध्ययन गरेर सरकारले स्वास्थ्यका क्षेत्रमा धेरै तयारी र लगानी लगाउनु पर्ने थियो । ‘अहिले रोग भित्रे पछि डाक्टरलाई लुगा छैन, मास्क र पन्जा छैन भनेर रोई कराई गरिरहेको सुन्छु । यो तयारी त पहिल्यै गनु पर्छ नि ।’ कतिपयले रोगलाई हल्का रुपमा ल्याएको अनुमान गरेका नन्दलाल, ‘सरकारले भने बमोजीम क्वारेन्टाईनलाई बढि महत्व दिनु पर्ने बताउँछन् ।



 

प्रकाशित: ७ वैशाख २०७७ ०८:५० आइतबार

महामारी विगत हैजा