समाज

कोरोना अस्पताल निर्माण सुस्त, परीक्षणमा बाहिरकै भर

लहान - भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै प्रदेश २ उच्च जोखिममा छ। कोरोना भाइरसको जोखिमबाट जोगिन प्रदेश सरकारले नियन्त्रणात्मकसँगै उपचारात्मक गतिविधि पनि बढाएको छ। तर गति निकै सुस्त छ।

सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसारप्रदेशका ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०–५० बेडका कोरोना अस्पताल बनाउन लागिएको छ। महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोरोना उपचार अस्पताल बनाइँदैछ। 

जलेश्वर अस्पताल, पोखरिया अस्पताल र भारदह अस्पताललाई १५ बेडबाट ५० बेडमा स्तरोन्नति गरिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। ५० बेडको कलैया अस्पतालमा भेन्टिलेटर र आइसियूसहितका पूर्वाधार थपिँदैछ। हाल प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा मात्र कोरोना उपचार सेवा उपलब्ध छ। कोरोनाका बिरामी बढेपछि यी दुई अस्पतालमा सीमित उपचार कक्षले थाम्न नसक्ने निष्कर्षसहित प्रदेश सरकारले अस्पतालको दायरा बढाउन लागेको हो तर गति निकै सुस्त छ। 

प्रदेशका ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०–५० बेडका कोरोना अस्पताल बनाउन लागिएको छ। तर कामको गति असाध्य सुस्त छ।

संघीय सरकारले प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगन्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई कोरोना उपचार अस्पताल तोकेको छ। यीमध्ये नारायणी र सगरमाथा अस्पताल संघीय सरकारको मातहत भएपनि  प्रदेश सरकारले आफ्नै मातहतमा कोरोना उपचार अस्पतालको स्वरुप दिन लागेको हो।

प्रदेश सरकारले कोरोना उपचार अस्पताल बनाउन जलेश्वर अस्पताललाई ८ करोड, कलैया अस्पताललाई ७ करोड, जिल्ला अस्पताल सिरहालाई ८ करोड र प्रादेशिक अस्पताल जनकपुरलाई २२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ। तर अझै उपचारका लागि आवश्यक उपकरण तथा सामग्री खरिद हुन सकिरहेको छैन।‘सामान खरिदको सबै प्रक्रिया मिले पनि लकडाउनका कारण समयमै स्वास्थ्य उपकरण ल्याउन सकिरहेको छैन’, सचिव घिमिरेले भने, ‘उपकरण तथा सामग्री ल्याउन भरपूर प्रयास गरिरहेका छौं।’

परीक्षणमा बाहिरकै भर
चैत २१ गतेदेखि जनकपुरको प्रादेशिक अस्पतालमा पोलिमरेज चेन रियाक्सन (पिसिआर) परीक्षण थालिए पनि क्षमता कम हुँदा स्वाबका नमुना काठमाडौं, हेटौंडा र धरान पठाउनुपर्ने बाध्यता छ। 

प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रामविनय साहका अनुसार त्यहाँ रहेको पिसिआर मेसिनबाट दैनिक पाँचदेखि छवटा नमुनाको मात्रै परीक्षण भइरहेको छ। ‘जनशतिm अभावका कारण एक सिफ्टमात्र काम गर्न सकिरहेका छौं’, उनले भने,‘बुधबार संकलन गरिएका ३२ वटा स्वाब नमुनामध्ये बिहीबार पाँचवटाको मात्र परीक्षण गर्न सक्यौं।’ 

प्रदेशभरिका आठवटै जिल्लामा शुक्रबारसम्म ५ सय ४५वटा स्वाबनमुना संकलन भएकोमा ४ सय ६३ वटा नमुना काठमाडौं, हेटौडा र धरान पठाइएको छ भने ८२ नमुनाकोप्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ। सचिव घिमिरेकाअनुसार शुक्रबारसम्म संकलित५ सय ४५ नमुनामध्ये ५ सय ८ वटाको परीक्षण भएको छ। तीमध्ये पाँच सय ४ नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भनेर चारवटा नमुनाको पोजेटिभ आएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका चारैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

पिसिआर आयो, चलाउने उपकरण आएन
मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्षमा भिडियो सन्देश जारी गर्दै भोलिपल्टदेखि नै नारायणी अस्पताल ठूलो क्षमताको पिसिआर मेसिन सञ्चालनमा आउने बताएका थिए।यस प्रदेशमा नमुना परीक्षणको दायरा बढाउन ठूलो क्षमताको पिसिआर मेसिन सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ थियो। नारायणी अस्पतालमा पिसिआर मेसिन त आयो तर सञ्चालनमा ल्याउन आवश्यक उपकरण नआउदा मेसिन थन्किएको छ।

अस्पतालका प्रमुख मदनकुमार उपाध्यायले नागरिकसँग भने, ‘भात पकाउन जसरी चामलमात्र भएर पुग्दैन त्यसैगरी पिसिआर मेसिन मात्र भएर परीक्षण सम्भव हुँदैन। यसका लागि आवश्यक उपकरण तथा सामग्री जुटाउन चुनौती छ।’ बायो सेफ्टी क्याबिनेट, पिसिआर हुडलगायतका उपकरणबिना मेसिन सञ्चालन हुन नसक्ने उनले बताए। ‘यी उपकरण बाहिरबाटै मगाउनुपर्ने हुन्छ, हामी लागिपरेका छौं,’ उनले भने।

प्रकाशित: ७ वैशाख २०७७ ०२:०३ आइतबार

कोरोना_अस्पताल परीक्षण