समाज

डेढ दर्जन सवारी प्रहरी नियन्त्रणमा, अनावश्यक हिड्नेलाई समेत कारवाही

ताप्लेजुङ- लकडाउन उल्लंघन गर्ने उपर कडा रुपमा प्रस्तुत हुन थालेको ताप्लेजुङ प्रहरीले अनुमति बेगर सञ्चालनमा आएका झण्डै डेढ दर्जन बढी सवारी नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरी अनावश्यक हिड्डुल गरेको अभियोगमा प्रहरीले १९ जना मानिसलाई कारवाही समेत गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार लकडाउनका बेला अनुमति बेगर सञ्चालनमा आएका १४ वटा मोटरसाइकल, २ वटा जीप र ३ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा रहेका यी सवारी लकडाउन खुलेपछि मात्र सम्बन्धित धनीलाई दिइने प्रहरीले बताएको छ।

यस्तै सोमबारबाट लकडाउनमा थप कडाई गर्ने नीति लिएको ताप्लेजुङ प्रहरीले काम बेगर सडकमा देखिएका १९ जनालाई कारवाही गरेको जनाएको छ। प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार १९ जनामध्ये १६ जनालाई दुईघण्टा सडकमा उभ्याउने र कोरोना सम्बन्धी प्रशिक्षण दिएर पठाइएको छ भने ३ जनालाई एकरात प्रहरी नियन्त्रणमा राखेर छाडिएको छ। मादक पदार्थ समेत सेवन गरेको अवस्थामा फेला परेका ३ जनालाई भने एकरात प्रहरी नियन्त्रणमा राखेर सम्झाई बुझाई छाडेको प्रहरीले जानकारी दिएको छ।
    

प्रकाशित: ६ वैशाख २०७७ ०५:२४ शनिबार

लकडाउन कारवाही प्रहरी