समाज

रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना

रसुवा- रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनलाई पूर्ण प्रभावकारी बनाउनका लागि क्याम्प स्थापना गरिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा अस्थायी बेस क्याम्प स्थापना भएको जानकारी दिए। जिल्ला सुरक्षा समितिले जिल्लाको सबै गाउँपालिकामा सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्ने निर्णय गरेको थियो।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र टिमुरे तथा आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा यसअघि नै सशस्त्र प्रहरी रहेको थियो। बाँकी क्षेत्रमा पनि शुक्रबारदेखि सशस्त्र प्रहरी परिचालन भइसकेका छन्।

कालिकाको कालिकास्थानमा ११ जना, नौकुण्डको पारच्याङमा ९ जना र उत्तरगयाको बेत्रावतीमा ९ जना प्रहरी परिचालन गरिएको छ। लकडाउन अवधिभरका लागि थप तीन स्थानमा अस्थायी क्याम्प स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्मका प्रहरी नायव उपरीक्षक किरण पौडेलले बताए।

योसँगै जिल्लाको पाँचवटै गाउँपालिकामा सशस्त्रको उपस्थिति भएको छ। उनीहरूले गाउँपालिका तथा नेपाल प्रहरीसँगको साझेदारीमा लकडाउनको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छन्।

प्रकाशित: ६ वैशाख २०७७ ०४:३१ शनिबार

सशस्त्र_प्रहरी बेस_क्याम्प कोभिड–१९ कोरोना