समाज

बेवारिसे अवस्थामा झुण्डिएको शव फेला

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ तेलकोट जंगलमा कटुसको रुखमा एक महिला झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । अन्दाजी ३० वर्ष जतिको देखिने गहुँगोरो, उचाई ५ फिट, मझौला शरिर भएकी महिला मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । छातिमा हरियो बुट्टा भएको रातो रङको कुर्था, हरियो सुरुवाल, रातो मखमलको जुत्ता, हरियो सल लगाएकी रातो ब्याग बोकेकी, घाँटीमा पोते लगाएकी हुलिया भएको मृत शव फेला परेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।

खवर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी परिसर, भक्तपुरबाट आफूसहितको अनुसन्धान अधिकृतको टोली घटनास्थलमा गई एकिन नामथर वतन नखुलेकी उनलाई झुण्डिएको अवस्थामा फेला परेको गिरीले जनाए । घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न गरी मृतकलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल दुधापटी पठाई थप अनुसन्धान कार्य भईरहेको उनले जनाए । शव कसको हो कोही कसैलाई जानकारी भएमा महानगरीय प्रहरी परिसर, भक्तपुरमा सम्पर्क गर्नुहुन पनि उनले अनुरोध गरे ।

प्रकाशित: ६ वैशाख २०७७ ०४:०१ शनिबार

बेवारिसे शव