समाज

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

सर्लाही- भारतीय सुरक्षाकर्मीले बिहीबार मध्यराति दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

भारतीय सुरक्षाकर्मीले सोनवर्षा लगायत ३ ठाउँमा क्वारेन्टाइनमा राखिएका १२३ जना नेपालीलाई ट्रकमा हालेर कनौली नाकास्थित लखन्देही खोलामा बिहीबार राति छाडिदिएका थिए। त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुनस् भारततर्फ नै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

दशगजामा छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर गाउँपालिका छिरेका छन्। नेपाल छिरेका २४ जनालाई कामद माविको क्वारेन्टाइनमा राखिएको छ।

वीरगंजस्थित भारतीय महावाणिज्य दुतावास, भारत सितामाढीका सुरक्षा अधिकारी लगायतसँग समन्वय गरेर दशगजामा छाडिएका नेपालीलाई उतैको क्वारेन्टाइनमा फर्काइएको प्रजिअ जिसीले जानकारी दिए। केही दिनअघि मात्रै लकडाउन छिचोल्दै भारतबाट छिरेका ६२ जनालाई चन्द्रनगर, हरिपुर, चक्रघट्टा लगायत स्थानीय तहले क्वारेन्टाइन मै राखेका छन्।

प्रकाशित: ५ वैशाख २०७७ १४:४७ शुक्रबार

भारतीय_सुरक्षाकर्मी नेपाली दशगजा