काठमाडौं - नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा १६ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको र चितवनमा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। उदयपुरकाे एक मस्जितमा लुकेर बसेका उनीहरुलाई विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनीहरु मध्ये केही भारतीय रहेको बताइएको छ।मस्जिदमा केही भारतीय नागरिक लुकेर बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
स्वास्थ्य मन्त्रालय स्रोतले पनि कोसी अस्पतालमा जाँच गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको र थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये एक जना उपचारपछि घर फर्केका छन्।
प्रकाशित: ५ वैशाख २०७७ १३:३८ शुक्रबार