समाज

तातोपानीबाट मेडिकल सामाग्री आउन थाल्याे, स्थानीय विराेधमा

सिन्धुपाल्चोक - कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रण गर्न उत्तरको मुख्य व्यापारिक तातोपानी नाका भएर चीनबाट अत्यावश्यक मेडिकल सामाग्री आउन थालेका छन्। 

चीनबाट नाका भएर सहज र सुरक्षित ढंकले अत्यावश्यक सामाग्री ल्याउनेबारे ‘मोडालिटी’ तय भएसँगै मेडिकल सामान नियमित आउन थालेका हुन्। चीनबाट शुक्रबार मात्र तीन सय ७२ कार्टुन मेडिकल सामाग्री नाकामा आइपुगेको तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले बताए। उनका अनुसार आयातित मेडिकल सामाग्रीमा माक्स, पञ्जा, पिपिइ सेट, सेनिटाइजर, थर्मोगन लगायत छन्। 

‘यी सामान बन्दरगाह भन्सारको आइसोलेसनमा राखेका छौँ,’ प्रमुख खत्रीले नागरिकसँग भने, ‘त्यहाँ १२–१४ घण्टा राखेर परीक्षण गरी शनिबार मात्र राजधानी पठाउँछौँ।’ सरकारले लकडाउन अवधिभर अत्यावश्यक सामाग्री उत्तरका नाका तातोपानी र सरुवागढीबाट ल्याउने निर्णय गरेको थियो। निर्णयपछि दुबै नाकाबाट एक पटक थोरै मात्रामा मेडिकल सामाग्री भित्रिएपनि कसरी ल्याउने भन्ने मोडालिटी तय नहुँदा नियमित आयात हुन सेकेको थिएन। 

दुबै मुलुकका सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षाअधिकारीबीच मंगलबार तातोपानी नाकामा भएको बैठकले मोडालिटी तय गरेपछि नाकाबाट नियमित सामान आउने बातावरण बनेको प्रमुख खत्रीले बताए। नाकाबाट बिहीबार मात्र ३४ कार्टुन मेडिकल सामान राजधानी भित्रिएका थिए। सिडिजाइन नामक व्यापारिक फर्मले बुधबार ती सामान नाकामा ल्याइ पु¥याएको थियो। १४ घण्टा आइसोलसनमा राखेर सामाग्री राजधानी पठाइएको हो। 

‘अब अत्यावश्यक मेडिकल र खाद्य सामाग्री नियमित आउँछन्,’ खत्रीले भने। उनका अनुसार नाकामा अहिलेसम्म खाद्य सामाग्री भने आइसकेका छैनन्। अन्य व्यापारिक सामान भने तत्काल आयात नहुने भन्सारले जनाएको छ। अधिकारहरुको बैठकले तय गरेको सामाग्री आयात मोडालिटीअनुसार नेपाली व्यवसायी÷व्यापारिक फर्मको अर्डरपछि चिनियाँ पक्षले सीमासम्म सामान ल्याइ दिने छ। मितेरी पुल क्षेत्रसम्म आइपुग्ने सामाग्री लिन सम्वन्धित व्यवसायी त्यहाँसम्म पुग्नुपर्ने छ। बढीमा २० जनासम्म नेपाली चालक र भरियालाई मात्र पुलसम्म पुग्न चीनले अनुमति दिएको भन्सार प्रमुख खत्रीले बताए। 

मितेरी पुल नजिकै चालक र भरियाको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ चिकित्सक र आवश्यक उपकरणसहित हेल्थ डेस्क सञ्चालनमा छ। सामाग्री सुख्खा बन्दरगाह पु¥याइएपछि १२–१४ घण्टासम्म आइसोलेसनमा राखेर मेडिकल परीक्षण पूरा गरेपछि मात्र भन्सार प्रक्रिया थालिने छ। सामाग्री आयात गर्दा दुबैतर्फबाट मेडिकल प्रोटोकल पालना गर्नुपर्ने शर्त छ। २०७२ वैशाख १२ को भूकम्पको कारण चार वर्ष बन्द भएको तातोपानी नाका गत वर्षको जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। चीनको बुहानबाट कोरोना संक्रमण फैलिएपछि माघ १६ गतेबाट पुनः नाका बन्द गरिएको थियो। 

स्थानीयद्धारा भने बिरोध 

नाका सञ्चालनमा ल्याइएकोप्रति स्थानीय भने रुष्ट बनेका छन्। कोरोना भाइरस चीनबाट सुरु भएकाले नाका सञ्चालनमा ल्याउँदा संक्रमणको जोखिम बढ्ने भन्दै सीमावासीले बिरोध जनाएका हुन्। बुधबार र बिहीबार ठूलो संख्यामा भेला भएर स्थानीयले सुख्खा बन्दरगाह भन्सार परिसरमा प्रदर्शन गरेका थिए। स्थानीय जनप्रतिनिधिले नै बिरोध र प्रदर्शनको नेतृत्व गरेको थिए। 

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला संकट व्यवस्थापन केन्द्रले लकडाउन उल्लंघन गरी बिरोध प्रदर्शन गरे कार्वाही गर्ने चेतावनी दिएपछि मात्र आन्दोलनकारी पछाडि हटेका छन्। कडा सुरक्षा पहराद्धारा नाकामा आउने सामान भन्सारले राजधानी पठाउने व्यवस्था मिलाएको छ।

प्रकाशित: ५ वैशाख २०७७ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App