समाज

थप चिकित्सक टोली सुदूरपश्चिम आउँदै

भीमदत्तनगर - कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ। विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चिकित्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रालयले सुदूरपश्चिम पठाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। उनले प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सिफारिसका आधारमा यहाँ आउन लागेका चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाउने जानकारी दिए।

निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएको छ। उनले भने, त्यसका लागि हामी आवश्यक गृहकार्य गरिरहेका छौँ। सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ। डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ ।जोशीले भने, अन्त पठाउने कुरो भएको छ। सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो। यसअघि पनि र्‍यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो।

बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। यहाँ हालसम्म पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

प्रकाशित: ५ वैशाख २०७७ १०:४३ शुक्रबार

कोरोना सङ्क्रमण चिकित्सक