समाज

काठमाडौं महानगरद्वारा साढे ४४ हजारलाई राहत वितरण (फोटो फिचर)

तस्बिर: केशव थोकर

काठमाडौं- काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिमा ४४ हजार ५ सय १३ परिवारलाई राहत वितरण गरेको छ। महानगपालिका भित्र बसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरेर ३२ वटै वडाका साढे ४४ हजार जनालाई राहत वितरण गरेको हो।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पहिलो चरणमा ३२ वटै वडामा ४४ हजार ५ सय १३ परिवारलाई राहत वितरण गरेको बताए। ‘महानगरले पहिलो चरणमा साढे ४४ हजारभन्दा धेरै परिवारलाई राहत वितरण गरेका छौं,’ उनले भने, ‘सरकारले लकडाउन लम्बाएसँगै फेरि राहतको माग गर्दै वडामा निवेदन आउने कार्य जारी छ। महानगरले फेरि आवश्यक तयारी गरेर राहत वितरणको कार्य सुरु गर्नेछौं। महानगरले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि राहत वितरण मापदण्ड–२०७६ पारित गरेर राहत विवरण गरेको हो। काठमाडौं महानगरले पहिलो चरणको राहत वितरणको लागि ठूला वडा कार्यालयलाई ८ लाखको दरले, मझौला वडा कार्यालयलाई ६ लाख र साना वडा कार्यालयलाई ४ लाखको दरले राहत उपलब्ध गराउन रकम उपलब्ध गराएको थियो।

प्रवक्ता डंगोलले पहिलो चरणको राहत वितरणको समिक्षा गरेर छिटै दोस्रो चरणको राहत वितरण गर्ने योजना रहेको बताए। महानगरले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट ४६ जना गम्भीर प्रकृतिका विरामी लाभान्वित भएका छन्। महानगरले लकडाउन अवधीभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट दुई दिनको अवधिमा ४६ जना बढीलाई सेवा दिएको जनाएको छ। महानगरले सेवा सुचारु गरेको दुई दिनमा ४६ जनालाई एम्बुलेन्स सेवा दिएको जनायो।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले दुई दिनको अवधिमा ४६ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको बताए। ‘डाइलोसिस गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरीलगायतका विरामीलाई प्राथमिकतामा राखेर सेवा दिँदै आइरहेका छौं, उनले भने ‘हाम्रो कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै हो। तर, महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि हामीलाई विरामीहरुले सम्पर्क गर्ने गर्नुभएको छ।’

अध्यक्ष सापकोटाले दैनिक पचास बढीका त्यस्ता फोन आउने गरेको बताए। उनका अनुसार महानगरपालिका क्षेत्र भित्रका विरामीलाई नै बढी प्राथमिकता दिँदै आएको छ। महानगरको आकस्मिक एम्बुलेन्स सेवाले त्यस्ता विरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डाइलोसिस सेन्टरलगायतमा लैजाने गरेका छौँ। सेवा लिनेको संख्या दिनहुँ बढी रहेको छ।

अध्यक्ष सापकोटाले सेवा लिने विरामीको नाम, ठेगाना सबै संकलन गरेको भन्दै सेवाग्राहीले सेवा प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरेको बताए। ‘सम्पर्कमा आएका त्यस्ता विरामीलाई हामीले सकेसम्म सेवा दिँदै आएका छौँ,’ उनले भने, ‘यस्तो विपद्का बेला हामीले विरामीको सेवालाई सर्वोपरी ठानेर काम गरिरहेका छौँ।’

काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको थियो। सोही सम्झौता अनुसार पाँच ओटा एम्वुलेन्सले लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवा दिइरहेको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए। आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए।

लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि उनले आग्रह गरे। सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालकसहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राखिएको छन्। चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेका छन्।

काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ।

 

 

 

 

महानगर राहत वितरण