समाज

अखाद्य नुन बेच्ने डिपो सिल

जुम्ला- गत चैत २६ गते लकडाउनको समयमा जनतालाई राहत उपलब्ध गराउने भन्दै जुम्लाको हिमा गाउँपालिकाले कार्यपालिका सदस्य रतिमा बिकलाई नुन खरिद गर्न नराकोट डिपोमा पठायो। यो डिपो साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खोलेको आधिकारीक डिपो हो। जहाँ दुई प्रकारको नुन थियो। एउटा नुन धुवा, धुलो लागेर हेर्दै म्याद गुज्रे जस्तो थियो। भने अर्को पट्टी भर्खर ल्याए जस्तो हेर्दै सफा बोरामा राखिएको नुन थियो।

नुन खरिदको लागि खटिएका रतिमानले डिपो प्रमुख खगेन्द्र मल्ललाई नयाँ नुन दिन प्रस्ताव गरे। तर डिपो प्रमुख मल्लले पुरानो नुन पनि सिध्याउनु पर्ने भन्दै जवरजस्ती पुरानो नुन थमाए। रतिमानले भने,‘ डिपोले जानीजानी म्याद सकिएको नुन थमायो। यो दोष डिपोकै हो।’ अहिले सम्म नुनको म्याद हुन्छ भन्ने नसुनेका उनले झण्डै एक सय बोरा नुन ल्याए। गाउँपालिकाका केही वडामा वितरण पनि भयो। तर त्यो नुनको पाकेटमा २०१६ को मिती थियो। सर्बत्र अखाद्य नुन बाडेको भन्दै बिरो भयो। गाउँपालिकाले वितरित नुनको प्रयोग नगर्न निर्देशन दियो। अहिले जनताले त्यो नुनको प्रयोग गरिराखेका छैनन्।

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा गाउँपालिकाले अग्रिम जानकारी गराउदा गराउदै डिपोबाट म्याद सकिएको नुन बेचेको बताउँछन्। उनका अनुसार नुन खरिद गर्नु पूर्व डिपो प्रमुखसंग म्याद नसकिएको, डल्ला नपरेको, कुनै कम्प्लेन नहुने गरि नुन उपलब्ध गराउन आग्रह गरिएको थियो। डिपो प्रमुख मल्लले पनि खासै फरक नपर्ने बताएका थिए, प्रमुख प्रशासकीय अधिकृत बुढा भन्छन्,‘ स्थानीय सरकारले खरिद गर्नु पूर्व सबै सजकता अपनाइसकेको थियो। तर डिपोको चरम लापरवाहीका कारण समस्या निम्तियो। यसका बारेमा छानबिन हुनुपर्छ। त्यसका लागि स्थानीय सरकार सक्दो सहयोग गर्छ।’

जुम्ला सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल डिपोमा २०१३ लेखेको नुन पनि रहेको बताउँछन्। हिमा गाउँपालिकामा ४० बोरा नुन २०१६/२०१७ लेखेको छ। राहतको नाममा म्याद सकिएको नुन बाडेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले गत चैत २८ गते नुनको गुणस्तर सम्बन्धमा तीन दिनभित्र लिखित जानकारी दिन स्पष्टिकरण सोध्यो। तर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रशासन कार्यालयले मागेको विवरण उपलब्ध गराउन सकेन।

जिल्ला प्रशासन कार्यालय जुम्लाले बैशाख ३ गते जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षमा प्रतिकुल प्रभाव पार्ने अवस्थालाई मध्य नजर गर्दै कार्यालयको गोदाममा रहेको नुन बिक्री वितरण कार्यलाई अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिईएको थियो। तर पनि डिपोले अटेर गरेपछि म्याद सकिएको नुनको विषयमा प्रभावकारी रूपमा अनुसन्धान सम्पन्न गर्नको लागि डिपो नै सिल गरियो। इलाका प्रशासन कार्यालय, नराकोटका कायममुकायम कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष तिला चन्द्र चौंलागाई, प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाही, सिंजा गाउँपालिका वडा नं. ३ का रतनबहादुर शाही र सोही वडाका प्रेमप्रसाद उपाध्याय, सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवन बाहिर रहेको ४८ (अड्चालीस) बोरा नुन समेत सील गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। उनका अनुसार नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न पनि डिपो सिल गरिएको हो।

यसैबीच नुनको गुणस्तरका विषयमा अनुगमन गर्न निस्केको जिल्ला समन्वय समिति जुम्लाको टोली बीच बाटोबाटै फर्किएको छ। अनुगमन टोली नपुग्दै डिपो सिल भएपछि बीच बाटोबाटै फर्किनु परेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की बताउँछन्। खलंगाबाट प्रमुख सार्की र उपप्रमुख कार्मा बुढासहितको टोली सिँजा डिपोमा जाँदै थियौ। प्रमुख सार्कीले भने,‘ बीचबाटोमै गोदाम सिल भइसकेको जानकारी प्राप्त भयो। त्यत्तिकै फर्कियौँ।’

उनले स्थानीय प्रशासनले डिपो प्रमुखलाई बचाउनको लागि आकस्मिक निर्णय गरेको आरोप लगाए। उनले भने,‘ स्पष्टिकरण सोध्नु पूर्व गोदाम सिल गर्नु पथ्र्यो, त्यो हुन सकेन। एक्कासी गोदाम सिल गर्नु रहस्यपूर्ण छ।’ सिँजा डिपोबाट सिँजा र हिमा गाउँपालिकाले नुन खरिद गरेको थियो। म्याद गुज्रेको नुनको विषयमा डिपोले कुनै जानकारी नगराइ जथाभावी वितरण गरेको विषयमा छानविन गर्न यहाँका स्थानीय तहले माग गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले म्याद सकिएको नुनको गुणस्तर छिटो मापन गर्न आग्रह गरिएको छ। यदी नुनको प्रयोग गर्न नमिल्ने भएमा डिपोलाई नुन फिर्ता गर्ने तयारी भइराखेको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्। उनले भने,‘ नुन खरिद गर्नु दोष होइन। तर म्याद सकिएको नुन बेच्नु डिपोको दोष हो। गाउँमा वितरण भइसकेको नुनको प्रयोग नगर्न कार्यपालिका बैठक मार्फत गाउँ गाउँमा सर्कुलर भइसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको गुणस्तर मापनका लागि ल्याव टेष्ट भइरहेको जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७७ ०३:५३ शुक्रबार

अखाद्य_नुन डिपो लकडाउन