समाज

लकडाउन पालन गराउन हिँडेका प्रहरीमाथि ढुंगा प्रहार

रौतहट- रौतहटको सदरमुकाम गौरमा लकडाउन पालना गराउन हिडेका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ। लकडाउन पालना गराउन हिडेका प्रहरीसँग स्थानीयहरु झडपमै उत्रिएका हुन्। झडपमा एकजना प्रहरी हवल्दार घाइते भएका छन्।

सदरमुकाम गौरको विपिचोकभन्दा केही पश्चिमतिर लकडाउन उल्लंघन गरी हल्लाखल्ला गरिरहेका केही युवकलाई जिल्ला प्रहरी कार्यालय रौतहटका हवलदार महेश खङ सम्झाउन जाँदा एकजनाले ढुंगा प्रहार गरेका थिए। युवकले चलाएको ढुंगा लागेर प्रह खङक बेहोस भएर ढलेका थिए।

घाइते प्रह खङको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ। बेहोस भएर ढलेका खङ तीन घन्टापछि होसमा आएका हुन्। जिल्ला प्रहरी कार्यालयबाट गएको थप टोलीले दोषीलाई पक्राउ गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले लाठी चार्ज पनि गर्नुपरेको थियो। प्रहरीले गौर कारागारका जेलर शम्भु यादवका छोरा गौर नपा ३ का २२ वर्षीय विवेक यादव, त्यहीका २६ वर्षीय राहुल यादव, २९ वर्षीय राजीव यादव र ३० वर्षीय अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीमाथि आक्रमण भएर एकजना प्रहरी सडकमा लडेपछि सशस्त्र प्रहरी बल नेपालको टोली पनि घटनास्थल पुगेको थियो। प्रहरीले लक डाउनलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेको समयमा प्रहरीमाथि नै आक्रमण गर्ने टोलीलाई नियन्त्रणमा लिन खोज्द प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको र आक्रमणकारीमध्ये चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले बताएका छन्।

जिल्लामा एक जना युवक कोरोना भाइरसले संक्रमित भएको भेटिएपछि स्थानीय प्रशासनले लक डाउनलाई प्रभावकारी बनाउनु पर्ने सामाजिक दबाब बढेको छ। लक डाउनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी अहोरात्र काम गरिरहेको समयमा केहीले प्रहरीप्रति नै नकारात्मक दृष्टिकोण राखेको पाइएको छ। यसै क्रममा कहिलेकाहँी प्रहरीले यस प्रकारको दुर्भाग्यपूर्ण घटना बेहोर्नु परिरहेको एसपि खड्का बताउँछन्।

यसै बीच जिल्ला प्रशासन कार्यालय रौतहटले विहीवार दिउँसोसम्म रौतहटमा १८६ जना विभिन्न क्वारेन्टाइनमा रहेको बताएका छन्। क्वारेन्टाइनमा थपिने र बाहिरिने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।

लक डाउनलाई अझ प्रभावकारी बनाउन स्थानीय प्रशासन पूर्ण सक्रिय रहेको र जिल्लाबासीलाई पनि आफ्नो स्वास्थ्यप्रति गम्भीर हुन आफूले निरन्तर आग्रह गरिरहेको प्रजिअ घिमिरे बताउँछन्।

प्रकाशित: ४ वैशाख २०७७ ११:५८ बिहीबार

लकडाउन प्रहरी