समाज

मकैमा फौजी किराको प्रकोप

खाल्लेको बाँसबोटेमा मकैमा फैलिएको फौजी किरा र अनुगमन गर्दै कृषि प्राविधिक। तस्बिर: नागरिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किरा (आर्मी वर्म)को प्रकोप फैलिएको छ। खाल्लेको खानीडाँडा नजिकै पर्ने बाँसबोटे, खाल्लेसेराको बा-हबिसे लगायतका क्षेत्रमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप फैलिएको हो। केही साता यता फैलिएको फौजी किराले मकैको बाली सखाप बनाउँदा किसान चिन्तित बनेका छन्। 

खानीडाँडा नजिकै पर्ने बाँसबोटे सुन्तलाबारीका किसान एकराज पौडेल लगायतका तीन किसानले २१ खेतमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए। जानकारी आए लगत्तै कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मकै जोन र नगरपालिकाको कृषि शाखाको संयुक्त टोलीले बैसाख २ गते गरेको अनुगमनकाक्रममा सुन्तलाबारीका किसानले लगाएको मकै बालीमा फौजी किरा लागेको पुष्टि भएको हो। गोडमेल गरेर बढ्दै गरेको मकैको गुवाभित्रै पसेर फौजी किराले बिरुवा खाने गरेको किसानको भनाई छ। 

यस्तै, बाँसबोटे आसपासका ७० किसानले करिब तीन सय रोपनी जग्गामा लगाएको मकै बाली फौजी किराले सखाप बनाएको जानकारी आएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए। खाल्लेसेराको बा-हबिसे खेतमा २० किसानले करिब दुई सय रोपनी जग्गामा लगाएको मकै बालीमा पनि फौजी किराको प्रकोप देखिएको जनाइएको छ। बाँसबोटे र खाल्लेसेराको बा-हबिसेमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसान संख्याको यकिन तथ्यांक आउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताए। 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे र अल्छेढुंगा क्षेत्रका किसानले पनि मकैमा फौजी किराको प्रकोप देखा परेको बताएका छन्। नोभेको करिब २५० रोपनी भन्दा बढि क्षेत्रमा लगाइएको मकै बाली सखाप बनाएको जानकारी आएको कृषि प्रशार अधिकृत कलौनीले बताए। गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा फौजी किराको प्रकोप फैलिएको थियो। 

मकैमा फैलिएको फौजी किरा नियन्त्रणका लागि कृषि प्राविधिकको सल्लाह अनुशार ईमिडाक्लोप्रिड, क्लोरान ट्रानिलप्रोल, स्पानोस्याड, ईमामेक्टिन वेन्जोएट नामको झोल (विषादी) मध्ये कुनै एक एमएल विषादिमा २ लिटर पानी घोलेर सुरक्षित तरिकाले स्प्रेयरबाट लगाउन आग्रह गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताए। ‘आवश्यक सहयोगका लागि भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला समक्ष सहयोगको माग गरिएको छ,’ राईले भने, ‘किसानले सुरुमै जानकारी नदिँदा पनि फौजी किरा नियन्त्रण गर्न सहज हुने गरेको छ।’ 

गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका वडामा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको थियो।

 

प्रकाशित: ४ वैशाख २०७७ ११:३३ बिहीबार

फौजी_किरा मकै