समाज

१९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपाेर्ट ‘नेगेटिभ’

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जनाको कोरोना भाइरस ९कोभिड–१९०को र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडिटि० रिपोर्ट ‘नेगेटिभ‘ आएको छ। विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १९ जनामा कोरोना भाइरसको संक्रमण भएरनभएको यकिन गर्नका लागि बुधबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भएरनभएको थाहा पाउनका लागि सम्वन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भएरनभएको परिक्षण गर्ने १२० वटा किट पठाएपछि गत चैत यता विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। र्‍यापिड डाइग्नोस्टिक टेष्टका लागि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली जन्तेढुंगा गाउँपालिका पुगेका हुन्। 

बिहिबार बराहपोखरी गाउँपालिकाको र्‍यापिड डाइग्नोस्टिक टेष्टको काम सकेर स्वास्थ्यकर्मीको टोली खोटेहाङ गाउँपालिका पुग्ने जनाइएको छ। बैसाख ५ गतेसम्ममा दक्षिणी क्षेत्रका खोटेहाङ गाउँपालिका हुँदै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका रिटर्नीको र्‍यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने प्रजिअ पौडेलले बताए। यस्तै, बैसाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैसाख ७ केपीलासगढी गाउँपालिकामा बैसाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैसाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारिएको छ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागे यता विदेशबाट एक जना मात्र फर्केको तथ्यांक छ। ‘प्रदेश सरकारबाट हामीलाई १२० किट प्राप्त भएकाले त्यती जनाकै टेष्ट हुन्छ,’ प्रजिअ पौडेलले भने, ‘पोजिटिभ रिपोर्ट आए सम्वन्धित पालिकाकै खर्चमा उपचारका लागि धरान पठाइन्छ, नेगेटिभ देखिए पनि १० प्रतिशत नमूना संकलन गरेर परिक्षणका लागि पठाइने छ।’ 

चैतअघि घर फर्किएका र काठ्माण्डौंबाट घर फर्किएका व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुःन परिक्षण किट माग गरिएको प्रजिअ पौडेलले बताए। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तीको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो। उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन्।

प्रकाशित: ३ वैशाख २०७७ १२:१३ बुधबार

र्‍यापिड_डाइग्नोस्टिक_टेष्ट ‘नेगेटिभ’ काेराेना