समाज

खुलेको पोखरा, हरियाली फेवा किनार (फोटोफिचर)

पोखरा- २०७७ सुरु भएको तेश्रो दिन बुधबार बिहान पोखरा र खासपासको क्षेत्र निकै नै खुल्यो। अघिल्ला दुईदिनसम्मको धुम्म बादल हटेर बुधबार बिहान छ्यांग खुल्दा पोखरा निकै नै आकर्षक देखिएको थियो। हिमाल छर्लंग मात्र खुलेन की दिउसो अबेरसम्म पाहुनाविहीन भएको पर्यटकीय क्षेत्र लेकसाइड र फेवा किनार पनि चम्कियो।

मुलुक यतिबेला कोरोना भाइरस त्रासले लकडाउनमा छ। लकडाउनका कारण सर्वसाधारण नागरिक घरबाहिर निस्कन पाएका छैनन्। मुख्य पर्यटकीय क्षेत्र लेकसाइड पनि यही लकडाउनको मारमा छ। सबै होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ सम्वद्ध व्यावसाय बन्द छन्। यो बेला पर्यटकीय सिजन चलेर यतिबेला लेकसाइड पाहुनाले चम्किन्थ्यो। अघिल्ला वर्ष यो बेला लेकसाइडमा बेलुकीपख झनै रमझम हुन्थ्यो। तर, अहिले भने लेकसाइड पुरै सुनसान छ। पाहुनाविहीन भएको लेकसाइडका व्यावसायी पनि घरभित्रै थुनिएका छन्। कोरोना त्रासले घरभित्र थुनिएका नागरिकलाई प्राकृतिक सुन्दरताले भने ‘रिफ्रेस’ बनाउने गरेको व्यावासायी बताउँछन्।

लकडाउनको सुनसानमा परेको लेकसाइडलाई प्रकृतिले भने सुन्दर देखाएको छ। फेवातालको पानी केही सफा भएको छ। फेवा किनारका शिशौका रुखले हांगा हालेका छन्। फेवा किनारमा हुर्किएका विरुवा झपक्कै हरियो भएर झांगिएका छन्। त्यत्ति मात्र होईन, नियमित जस्तै वर्षा भईरहँदा फुटपाथ छेउको दुवो पलाएर हरियो भएको छ। मान्छेले कुल्चिन नपाउँदा दुवो पनि मौलाउने अवसर पाएको छ। बसुन्धरापार्क पनि हरियाली उत्तिकै छ। पछिल्ला दुईदिन पोखरामा भीषण वर्षा भएको थियो। मंगलबार राती वेतोडको हावाले बुधबार बिहान पोखरालाई छर्लंग उघारेको थियो। 

लेकसाइड पहिलो पटक यत्तिको सुनसान हुँदा सधैं मान्छेको भीडभाड हुने फुटपाथ भने सुन्दर देखिएको छ। एकाध पाहुना हिडडुल गरेको देखिएपनि अरु भने फुटपाथ क्षेत्रमा कोही देखिदैनथे। ती पर्यटक पनि छहारीम सुस्ताएर सुन्दर देखिएको पोखरा नियाली रहेका थिए। ‘पाहुना नभएपनि शान्त र सुन्दर बनेको छ,’ होटल एशियाका संचालक समेत रहेका ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष धर्म पन्थीले भने, ‘यो बेला लेकसाइडले वास्तविक सुन्दरता देखाउन पाएको छ। बुधबार हिमाल खुल्दा त झनै बिचित्रै देखिएको थियो।’

अरुबेला मान्छेको हिडडुलले गर्दा फुटपाथ छेउका बोटविरुवा हरियो हुन समेत पाउने नपाउने गरेकोमा अहिले मान्छेको आउजाउ बन्द हुँदा शान्त र सुन्दर देखिएको उनले बताए। ‘कोलाहलविहीन सुन्दर लेकसाइड देखिएको छ। हिमाल मात्र नभई हरियाली पनि उस्तै बढेको छ ,’ उनले भने, ‘हामीले सधैं यस्तै सुन्दर पोखरा कल्पना गर्ने हो भने पोखरा साच्चैका सुन्दर सहर बन्नेछ।’ हल्लनचोकदेखि जिरो किलोमिटर क्षेत्रमा सडक बीचमा रोपिएको दूबो पनि पलाएर हरियाली भएको छ। धुवाधुलो र गाडीको आवाजबाट गुञ्जायमान हुने लेकसाइड र पोखरा क्षेत्रले यतिबेला स्वच्छ सास फेर्न पाएको उनले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन, ‘यो बेला पर्यटकीय सिजन हो, तर, कोरोना कहर बिर्साउने सुन्दरताले फेवाकिनार क्षेत्र चम्किएको छ। अरुबेला मान्छेको भीड र आउजाउले गर्दा दूवोले टुँसा समेत हाल्न पाउँदैनथ्यो। तर, अहिले भने हरियै बनेको छ।’ लकडाउन नहुँदो हो त यो बेलाको भीडभाडले लेक किनार हरियो हुन नपाउने उनले बताए।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई पनि अहिले पोखरा साच्चै सुन्दर बनेको बताउँछन्। ‘सिरसिर हावामा चराचुरुङगीको आवाज सुनेर केहीबेर फेवाकिनारमा सुस्ताउने हो भने सबै पीरमर्का बिर्साउने अवस्था छ,’ उनले भने, ‘पोखरा साच्चै सुन्दर बनेको छ। फेवातालमा डुंगा सयर पनि रोकिँदा त चकमन्न देखिन्छ।’

पोखरा लकडाउन फेवाताल