समाज

मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण

रसुवा -    रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्नका लागि पार्किङस्थल निर्माण गरिएको छ। 
अत्यावश्यक सामग्री ढुवानीका लागि आउने सवारी साधनलाई २४ घण्टा क्वारेन्टाइनमा राख्ने र डिसइनफेक्सन पश्चात मात्र जिल्लामा प्रवेश दिने योजना अनुरूप पार्किङस्थल निर्माण गरिएको हो। 

प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सहयोगमा गाउँपालिकाले पार्किङस्थल निर्माण गरेको हो। रसुवा र नुवाकोट सीमा क्षेत्र बेत्रावती हुँदै जिल्लामा प्रवेश गर्ने मालवाहक सवारी साधनहरू तथा अन्य साना सवारी साधनहरूलाई सोमबारदेखि डिसइन्फेक्सन गरिने गाउँपालिकाले जनाएको छ। 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनजर गरी डिसइन्फेक्सन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। सवारी चालक र सहयोगीलाई गाउँपालिकामा रहेको क्वारेन्टीनमा राखेर चेकजाँच गरिने र त्यसपछि रसुवाको बजार प्रवेश गर्न दिइने छ। 

जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधनका लागि यसभन्दा अघि नजिकको सुरक्षा पोष्टबाट (ढुवानी कार्ड) र हेल्थ डेस्कबाट सवारी चालकका लागि (ट्राभल हिस्ट्री कार्ड) बेत्रावती प्रहरी चौकीबाट जारी भइरहेको छ। 

यसैगरी रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पनि गाउँपालिकाभित्र रहेका तीन स्थानमा डिसइन्फेक्सन गर्ने कार्य गरिरहेको छ। शाखा प्रमुख बिमल घिमिरेका अनुसार गाउँपालिकाको स्याफ्रु, धुन्चे र रसुवागढीमा डिसइन्फेक्सन गर्न थालिएको हो।

प्रकाशित: ३ वैशाख २०७७ ०३:३८ बुधबार

मालवाहक_सवारी क्वारेन्टाइन पार्किङस्थल