समाज

जुम्लाका ३ सय २४ जनाको रिर्पोट नेगेटिभ

जुम्ला - जुम्लाबाट स्वाब परिक्षण गर्न पठाएका ३ सय २४ जनाको रिर्पोट  नेगेटिभ देखिएको छ।  भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको घुम्ती मेडिकल टोली मार्फता स्वाब पठाइएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलका अनुसार जुम्लाका ३ सय २४ जनाको स्वाब नेगेटिभ देखिएको जानकारी दिए। उनले भने,‘ यो जुम्लाबासुीको लागि खुसीको कुरा हो। अब पनि लकडाउनलाइ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने देखिन्छ। ’

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गर परीक्षण गर्न काठमाडौं पठाइएको थियो  । कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमानस्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक मंगल रावलले बताए। 

पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थल, हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। काठमाण्डौबाट चिकित्सकको टोली हेलिकप्टर मार्फत स्वाब संकलन गर्न जुम्ला पुगेको थियो।

संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको उनले जानकारी दिइन्। स्वाब संकलन गर्न जिल्लामा तीन स्थान तोकिएको थियो।

कोरोना परीक्षणको स्वाब संकलन गर्न जुम्ला विमालस्थलमा कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसन टोलीका डा. रुजु केसीसहित चारजना, हिमा गाउँपालिकाको देवारगाउँ खेलमैदानमा कर्णाली प्रतिष्ठानका ल्याप प्राविधिक विवेक पुनमगरसहित चारजना र कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलसहित चारजना चिकित्सकको टोलीसहित अन्य सहयोगी स्वास्थ्यकर्मी परिचालन भएको थियो। 

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएकाले संघीय सरकारको ध्यानाकर्षण भएर जुम्ला प्राथमिकतामा परेको बताइन्।  यसअघि जुम्लाबाट स्वाब संकलन गरेर पठाइएको ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। पछिल्लो समयमा जुम्लाबाट पठाइएको सबैको नेगेटिभ रिर्पोट आएपनि जुम्लाबासी खुसि छन्।

 

प्रकाशित: १ वैशाख २०७७ १३:३२ सोमबार

रिर्पोट_नेगेटिभ काेराेना