भक्तपुर- आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको क्रममा प्रत्येक वर्षको अन्तिम दिन भक्तपुरको पोटरी स्क्वायरमा विहान उठाइने हात नभएको लिंगो यस वर्ष उठाइएन। स्थानीयहरु मिलेर प्रत्येक वर्ष नयाँं वर्षको अन्तिम दिन विहान यहाँ ठूलो काठको लिंगो उठाइन्छ। कोरोना भाइसर (कोभिड १९)सँंगै सरकारले लकडाउन गरेको र धेरै मानिस भेटघाट गर्न निमल्ने कारण लिंगो नउठाइएको हो।
यही दिन साँंझ भक्तपुरको भेलुखेलमा साँंझ उठाउने जात्राकै मुख्य आकर्षक मानिने ५५ हात लामो लिंगो पनि नउठाइने जनाइएको छ। यसवर्ष जात्राअन्तर्गत लिंगोजात्रामा सुनको लिंगो उठाइने जनाइएको छ। गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले ५५ हात लामो काठको लिंगो उठाउनुपर्नेमा कोरोना भाइरस
संक्रमणको कारण यस वर्ष प्रतीकात्मक रुपमा सुनको सानो लिंगो उठाइने व्यवस्था मिलाइएको जानकारी दिए। जात्राको इतिहासमा अहिलेसम्म काठको लिंगो ठड्याइँदै आएको छ।
त्यसको प्रतीकको रुपमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारी र भैरव नाइकेहरुको सीमित उपस्थितिमा सानो सुनको लिंगो उठाउने उनले जनाए। चैत मसान्तमा ठड्याइएको उक्त लिंगो भोलिपल्ट पनि पूजाको सम्पूर्ण विधि पुर्याएर ढालिने उनले जानकारी दिए। उनका अनुसार सुनको लिंगो उठाउन र ढाल्न अष्टमातृकाको प्रतीकस्वरुप आठ वटा डोरीको रुपमा भने कुम्हाः काँ (पवित्र पहेंलो धागो) प्रयोग गरिनेछ।
प्रकाशित: ३० चैत्र २०७६ ०९:३८ आइतबार