समाज

कोरोना संकटमा स्वास्थ्यकर्मी कै पीर

वीरेन्द्रनगर- जिल्ला अस्पताल कालीकोटमा तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर विडम्बना यो अस्पताल लामो समयदेखि विशेषज्ञ चिकित्सकविहीन छ। प्रदेशकै ठूलो अस्पताल प्रदेश अस्पताल सुर्खेतमा ५० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ६ जना मात्र विशेषज्ञ चिकित्सक छन्। यति मात्र होइन कर्णालीमा दरबन्दीअनुसार विशेष र अन्य स्वास्थ्यकर्मीको अभाव छ, जसले यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन्।

आठ सय ७९ जना स्वास्थ्यकर्मीको दरबन्दी भएको कर्णालीमा तीन सय जना मात्र स्वास्थ्यकर्मी छन्। भौगोलिक विकटताका कारण उनीहरू यहाँ आउन नमान्दा दुर्गमका अस्पताल विशेषज्ञ चिकित्सकविहीन भएका हुन्। कर्णालीका एउटा विशेषज्ञ चिकित्सकले करिब दुई लाख ९४ हजार नौ सय ६३ जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ। यहाँ करिब १७ लाख जनसंख्या छ। विशेषज्ञ चिकित्सक नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट आफूहरू वञ्चित भएको कर्णालीवासीको गुनासो छ। जटिलखालका रोग तथा मौसमी रोगका बिरामीको उपचार भए पनि विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलिए यही जनशक्तिले उपचार गर्न सम्भव नहुने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

‘सामान्य अवस्थामा पनि उपचारमा समस्या भएको छ,’ प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने, ‘कोरोना मात्र होइन जुनसुकै महामारी फैलिएमा उपचार गर्न समस्या छ।’ अहिले २२ जना करार, विशेष करार र छात्रवृत्तिका विशेषज्ञबाट उपचार भइरहेको उनको भनाइ छ। विशेषज्ञ चिकित्सक नहुँदा जटिलखालको उपचारमा समस्या भएको जिल्ला अस्पताल कालीकोटका प्रमुख भिष्णु पोखरेलले जानकारी दिए। ‘अहिले कोरोना भाइरसले गर्दा बिरामी कम छन्,’ उनले भने, ‘कोरोनाको संक्रमण फैलिए यही जनशक्तिले धान्न गाह्रो छ।’ दरबन्दीअनुसार कर्णालीका अस्पतालहरूमा विशेषज्ञ चिकित्सक नहुँदा उपचार प्रभावित भएको छ, जसले गर्दा यहाँका बिरामी जटिलखालको उपचार पाउन नेपालगन्ज, बुटवल, चितवन, काठमाडौंलगायतका सुविधा सम्पन्न अस्पतालमा जान बाध्य छन्। जिल्लामा त्यस्तो उपचार नहुँदा महँगो र लामो जोखिमपूर्ण यात्रा गरेर उपचार लिने गरेको सुर्खेतका सहवीर बुढाले बताए।

भौगोलिक विकटताका कारण कर्णालीमा खटाइएका विशेषज्ञ चिकित्सक सुगम क्षेत्रमै बस्ने गरेका छन्। उनीहरूलाई कर्णालीमा आकर्षण गराउन कर्णाली प्रदेश सरकारले तलबको सय प्रतिशत प्रोत्साहन भत्ता दिनेसमेत निर्णय भएको सामाजिक विकासमन्त्री दल रावलले जनाए। तर उक्त निर्णयले पनि विशेषज्ञ चिकित्सकको आकर्षण बन्न सकेको छैन। ‘जनशक्ति अभावका बीचमा पनि काम गरिरहेका छौं,’ सामाजिक विकासमन्त्री रावलले भने, ‘दरबन्दीअनुसारका विशेषज्ञ चिकित्स नेपाल सरकारसँग माग गरेका छौं।’ कर्णालीमा ८० प्रतिशत विशेषज्ञ चिकित्सकको दरबन्दी खाली भएको उनको भनाइ छ।

विशेषज्ञ चिकित्स नहुँदा कर्णालीमा सुरु भएको कोरोना परीक्षणले गति लिन सकेको छैन। प्रदेशमा नमुना परीक्षण ढिलो हुने भएपछि कतिपय स्वाब काठमाडौं पठाइएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। कर्णाली कोरोना भाइरसको जोखिममा रहेको मन्त्रिपरिषद् बैठकको पनि निष्कर्ष थियो। कर्णालीबाट रोजगारीका लागि भारत गएका फर्किएपछि जोखिम बढेको बताइएको छ। यहाँका अधिकांश सर्वसाधारण रोजगारीका लागि भारत जाने गरेका छन्।

कर्णाली प्रदेशमा आठ अधारभूत स्वास्थ्य सेवा केन्द्र, समुदाय स्वास्थ्य इकाई ४८, १२ डेण्टल क्लिनिक, आठ जिल्ला अस्पताल, एक आँखा अस्पताल, एक आँखा क्लिनिक, सामान्य स्वास्थ्य केन्द्र आठ, स्वास्थ्य केन्द्र दुई, स्वास्थ्य चौकी तीन सय ३६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसका साथै  संस्थागत क्लिनिक दुई, मेडिकल क्लिनिक एक, एनजिओ ११, नर्सिङहोम १२, अन्य स्वास्थ्य संस्था १७, पोलिक्लिनिक १२, प्राथमिक स्वास्थ्य केन्द्र १२, प्राथमिक अस्पताल एक, प्रादेशिक अस्पताल एक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार टिचिङ अस्पताल एक, सहरी स्वास्थ्य केन्द्र २४ गरी जम्मापाँच सय १६ स्वास्थ्य संस्था छन्।

कार्ययोजना बनाएर काम गर्दा अहिलेको स्थिति धान्न सकिएको स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले जानकारी दिइन्। ‘जति छौं त्यतिले मेहिनेतका साथ काम गरेका छौं,’ उनले भनिन्, ‘ठूलो महामारी फैलिए यतिको मेहिनतले पुग्दैन।’ गरिबी, अशिक्षा, सरसफाइको अभाव, जनचेतनाको अभाव, भौगोलिक दुर्गमता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, असुरक्षित पिउने पानी, धुवाँधुलोका कारणले गर्दा कर्णालीका धेरै मानिस रोगको सिकार हुने गरेको उनको भनाइ छ। केही आवश्यक कर्मचारी करारमा समेत भर्ना गरिएको उनले जानकारी दिइन्। यस्तो संकटका बेला पनि कर्णालीमा स्वास्थ्यकर्मीकै पीर हुँदा स्थानीय चिन्तित बनेका छन्।

प्रकाशित: ३० चैत्र २०७६ ०९:०७ आइतबार

कोरोना संकट स्वास्थ्यकर्मी कोभिड–१९