समाज

लकडाउनको मौका छोपी काठ तस्करी

अत्तरिया - विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ।
 
जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ।  लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ। प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

  उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ। प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको बताए। रासस

प्रकाशित: ३० चैत्र २०७६ ०७:३६ आइतबार

कोरोना_भाइरस माहामारी तस्करी