समाज

पश्चिमका बाढी पीडितलाई खाद्यान्न वितरण

पञ्चपुरी नगरपालिकाको तिखाकुनाका बाढी पीडितहरुलाई खाद्यान्न वितरण गर्दै नगर प्रमुख उपेन्द्रबहादुर थापा । तस्बिर : नगेन्द/नागरिक

सुर्खेत- कोरोना संक्रमणका कारण भइरहेको लकडाउनले मजदुरी गर्न नपाएर खाद्य संकट भोगिरहेका सुर्खेत पश्चिमका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। २०७१ सालको बाढीले सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको पञ्चपुरी नगरपालिकाको तिखाकुना र डोप्काका बाढी पीडितहरुलाई खाद्यान्न सहयोग गरिएको हो।

नागरिककर्मीको पहलमा तिखाकुना र डोप्काका १२० घरधूरी बाढी पीडितलाई शुक्रबार एक–एक बोरा चामल, पिठो, नुन, तेल र तरकारी उपलब्ध गराइएको हो। कोरोना संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने बाढी पीडितहरु समस्यामा परेको समाचार प्रकाशित भएपछि विभिन्न संस्था र व्यक्तिहरुले नागरिककर्मीमार्फत राहत उपलब्ध गराएका हुन्।

पञ्चपुरीका बाढी पीडितका लागि लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपाल अन्र्तगतका कर्णाली क्षेत्रका लायन्सहरुले एक लाख एक हजार, सामाजिक अभियन्ता एवम् क्लिन सुर्खेत, ग्रिन सुर्खेतका संयोजक डा. नवराज केसी र दक्षिण कोरियामा कार्यरत सुर्खेत युवा लक्ष्मीनारायण बस्नेतले एक लाख ५ हजार, राप्रपाका पूर्व सहमहामन्त्री मुकुन्दश्याम गिरीले २५ हजार सहयोग गरेका थिए।

यस्तै व्यवसायी तिलक आचार्यले पाँच हजार एक सय, भरत रावलले पाँच हजार एक सय, नेपाल विद्यार्थी संघका अध्यक्ष गौतम विसीले तीन हजार, विशाल ढकाल र रामप्रसाद गौतमले पाँच–पाँच बोरा चामलका साथै पञ्चपुरीको ओम शिद्धिविनायक कृषि फर्मले सात क्वीन्टल तरकारी उपलब्ध गराएका थिए।

विभिन्न व्यक्ति र संस्थामार्फत उपलब्ध सहयोग पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा, उपमेयर मुक्ति पुरी रेग्मी, वडा नं. १० का अध्यक्ष हरि ढकालको रोहवरमा बाढीपीडितहरुलाई हस्तान्तरण गरिएको थियो। मेयर थापाले कोरोना संक्रमण रोक्न भइरहेको लकडाउनका कारण बाढी पीडितहरु सबैभन्दा धेरै समस्यामा रहेको बताए।
‘पालको छाप्रोमा बसेर दैनिक मजदुरी गरेर गुजारा चलाउने बाढी पीडितहरु लकडाउनका कारण समस्यामा हुनुहुन्छ,’ मेयर थापाले भने, ‘तपाईहरुले दिएको यो सहयोगले बाढी पीडितका साथै नगरपालिकालाई पनि ठूलो राहत भएको छ।’

मेयर थापाले २०७१ सालमा आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको पञ्चपुरीमा अझै पनि दुई सय २४ जना बाढी पीडितहरु पालमुनि रहेको जानकारी दिए। ‘उहाँहरुलाई पनि तपाईहरुको सहयोगको खाँचो छ,’ मेयर थापाले भने, ‘नगरपालिका एक्लैले जति प्रयास गर्दा पनि नहुँदो रहेछ।’ सुर्खेतका एक हजार ४५ जना बाढी पीडितहरु मध्ये हालसम्म दुई सय ३३ जनालाई राहत वितरण गरिएको छ।

 

प्रकाशित: २९ चैत्र २०७६ १०:१४ शनिबार

पश्चिम बाढी_पीडित खाद्यान्न