समाज

पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क

ताप्लेजुङको फुङ्लिङ बजारमा शनिबार बिहान निःशुल्क रुपमा साग बाँडिदैं। तस्बिर : खगेन्द्र नागरिक

ताप्लेजुङ -  दुध उत्पादकले बिक्री भएन भनेर दुध सडकमा पोखाउने वा गाईभैंसीलाई नै खुवाउने,टमाटर बिक्री भएन वा दाम आएन भनेर सडकमा फाल्ने गरेका खबर सुनेका ताप्लेजुङको फुङ्लिस्थित पाथीभरा क्षेत्रका एक किसानले भने आफ्नो बारीमा उत्पादन भएको साग बजारभरी निःशुल्क दिएर उदाहरणीय काम गरेका छन्। 

पाथीभरा क्षेत्रको भालुगौंडेका किसान बिष्णु पौडेलले आफ्नो ५ रोपनी जमिनमा लगाईएको साग फुङ्लिङ बजारमा निःशुल्क बितरणका लागि अनुरोध गरेपछि शनिवार बिभिन्न व्यक्ति तथा संस्थाको अगुवाईमा फुङ्लिङमा निःशुल्क बाँडिएको छ। पाथीभरा सिजनमा आउने तीर्थालुलाई लक्षित गरी साग रोपेका उनले यसबर्ष कोरोना सन्त्रासका कारण तीर्थालु नआउने र बारीमा त्यत्तिकै बिग्रने भय देखेपछि निःशुल्क बितरणका लागि ईच्छा देखाएका थिए। सो ईच्छालाई सार्थक बनाउन पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा भेटिपाति व्यवस्थापन समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र माथिल्लो फेदीमा रहेको प्रहरी चौकीले समन्वय गरेका थिए।

पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले साग उत्पादक पौडेलको आग्रह अनुसार उत्पादन भएको स्थलबाट साग संकलन गरी शनिवार बिहान फुङ्लिङ बजारभरी बितरणको व्यवस्था मिलाईएको जानकारी दिए। साग टिप्ने देखि संकलन गरी ढुवानी हुँदा सम्मको खर्च पाथीभरा भेटिपाति व्यवस्थापन समितिले निर्वाह गर्ने भएको छ। अघिल्लो बर्ष करिव ३ लाख मूल्य बराबरको साग बेचेका पौडेलले बारीमा कुहिएर त्यत्तिकै सड्नु वा फाँडेर फाल्नु भन्दा लक डाउनका कारण सागसब्जी पाउन मुस्किल परेका उपभोक्तालाई दिनु उचित ठानी यस्तो कदम चालिएको जानकारी दिए। भने‘त्यत्तिकै फाल्नु भनेको नष्ट गर्नु हो,बरु अरुलाई दिएर सहयोग गर्दा पुण्य कमिन्छ की जस्तो लाग्यो’। 

प्रकाशित: २९ चैत्र २०७६ ०८:१५ शनिबार

लकडाउन पाथीभरा किसान