समाज

१६ दिन क्वारेन्टाइनमा बिताएपछि २३ जना घर फर्किए

घर फर्किदै क्वारेन्टाइनमा रहेकाहरु। तस्विरः योगेश रावल

टीकापुर – टीकापुर नगरपालिका–१ स्थित बहुमुखी क्याम्पस भवनमा रहेको क्वारेन्टाइनबाट आज २३ जना घर गएका छन्। उनीहरु मध्ये ३ बालिकासहित ८ महिला र १५ पुरुष थिए। उनीहरुको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि टीकापुर नगरपालिकाले घर पठाएको हो।

भारतको विभिन्न ठाउँबाट आएका उनीहरुले क्वारेन्टाइनमा १६ दिन बिताएका छन्। क्वारेन्टाइनमा अझै टीकापुर नगरपालिकाका विभिन्न १२ जना बसिरहेका छन। उनीहरु सबैको रिपोर्ट समेत नेगेटिभ आएको छ। पहिलो चरणमा रिपोर्ट आउन बाँकी रहेका एक जनाको समेत पुनः स्वाब परिक्षण गरिएको छ। उनको रिपोर्ट समेत नेगेटिभ रहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिएका छन। उनीहरु सबैलाई १४ दिन पुगेपछि घर पठाईने बताईएको छ। 

उनीहरु सबैको चैत २३ गते स्वाब संकलन गरिएको थियो। उनीहरुबाट लिईएको स्वाब केन्द्रिय प्रयोगशालामा परिक्षण गरिएको थियो। क्वारेन्टाइनबाट घर गैरहेकाहरुको क्वारेन्टाइनबाट विदाई गर्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले घरमा समेत केही दिन अन्य व्यक्तिहरुबाट टाढा बस्न आग्रह गरेका छन। 

उनले क्वारेन्टाइनमा बसेर सरकारको कोरोना नियन्त्रण अभियानमा सहयोग पुर्याएकोमा सबैलाई धन्यवाद व्यक्त गरे।  सो अवसरमा उपमेयर केशरी बिष्टले गाउँ टोलमा भारतबाट आएका अन्य व्यक्तिलाई समेत स्वाब परिक्षणका लागि सल्लाह दिन आग्रह गरिन। उनले भारतबाट फर्किएर घरमै लुकेर बसेका व्यक्तिहरुका कारण समाजमा अझै त्रासको अवस्था रहेको बताउँदै स्वाब परिक्षण गरेर आफू लगायत समाजलाई त्रासबाट मुक्त गर्न अनुरोध गरिन। 

क्वारेन्टाइनमा बसेर घर फर्किएका ओम प्रकाश राजबंशीले नगरपालिकाले उपलब्ध गराएको सेवा सुविधा प्रति खुशी व्यक्त गरे। उनी भारतको दिल्लीबाट घर फर्किएका हुन। ‘हाम्रो खानपान र बसोबासमा मेयर, उपमेयर लगायत नगरपालिकाका साथीहरुले निकै ख्याल गर्नुभयो’ उनले भने–‘यो सहयोगका लागि म सबै साथीहरुका तर्फबाट हार्दिक आभार व्यक्त गर्छु।’

नगरपालिकाले उनीहरु सबैलाई गाडीमै राखेर घरसम्मै पुर्याउने व्यवस्था गरेको छ। उनीहरु नगरपालिकाको विभिन्न ठाउँका बासिन्दा हुन।

प्रकाशित: २८ चैत्र २०७६ १२:३८ शुक्रबार

क्वारेन्टाइन लकडाउन काेराेना