समाज

मनकारी सुकुम्बासी: जसले आफूले पाएको राहत फिर्ता गरे

रसुवा – रसुवाको कालिका गाउँपालिका–३, का दुई जना सुकुम्बासीले गाउँपालिकाले उपलब्ध गराएको राहत फिर्ता गरेका छन्। आफूभन्दा बढी समस्यामा परेकालाई राहत दिन अनुरोध गर्दै मुरली नेपाली र झक्कबहादुर भुसालले राहत फिर्ता गरेका हुन्। 

उनीहरूलाई गाउँपालिकाले वडामार्फत कुपन उपलब्ध गराएको थियो। ‘अहिले हामीलाई राहतको आवश्यकता छैन’, नेपालीले भने, हामीभन्दा कमजोर परिवारले पाऊन् भन्ने मेरो चाहाना हो।’ समस्या नै परेको खण्डमा गाउँपालिकासँग राहतको लागि अनुरोध गरिने उनले बताए।  

गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानले दुवै जनाले शुक्रबार कुपन फिर्ता गरेका बताए। ‘हामीले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने क्रममा उहाँहरूलाई पनि उपलब्ध गराएका थियौँ,’ उनले भने, ‘तर हामीभन्दा पनि समस्या परेकालाई राहत दिनुस भनेर कुपन फिर्ता गर्नुभयो।’ 

गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको थियो। गाउँपालिकाले पहिलो चरणमा राहत वितरणको काम सकाएको छ। पहिलो चरणमा २ सय ६७ परिवारलाई राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा १६, २ मा ९१, ३ मा ६०, ४ मा ३७ र ५ मा ६३ परिवारलाई दैनिक उपभोग्य वस्तु सामग्री वितरण सुरु गरिएको हो। यसका लागि वडाहरूले कुपन उपलब्ध गराएका थिए। कुपनका आधारमा नजिकैका पसलबाट सामग्री लिएका गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले बताए। 

लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि गाउँपालिकाले कुपनको व्यवस्था गरेको थियो। लकडाउन लम्बिएकाले दोस्रो चरणमा पनि राहत उलब्ध गराउने तयारी छ। ‘नोवल कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध बनाउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको थियो। 

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइएको हो। 

लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम् दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराइएको र लकडाउन अवधिभर जारी रहने उनले बताए।

 

प्रकाशित: २८ चैत्र २०७६ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App