समाज

परेली आयुर्वेद हाउसमा शिलबन्दी

भक्तपुर- प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा शिलबन्दी गरेको छ। अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङलगायतका कार्यहरु गरेको आरोपमा हाउसमा शिलबन्दी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।

अनाधिकृत रुपमा सामानहरु बिक्री वितरण गरी रहेको छ भन्ने बिशेष सूचनाको आधारमा उल्लेखित विषयको जानकारी औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौमा जानकारी गराई त्यहाँबाट खटिई आएका फार्मेसी अधिकृत धनबहादुर बोहोरासमेतको टोलीसहित परिसरबाट प्रनि कृष्णपसाद.बिष्टको प्रहरी अनुसन्धान अधिकृतको टोली उल्लेखित स्थानमा खटिई गएको परिसरले जनाएको छ। टोलीले हेर्दा उक्त आयुर्वेद हाउसले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता गर्दा हर्बल जन्य बस्तु उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेर अन्य उत्पादनहरु पनि गरेको पाइएको जनाइएको छ।

यसपछि उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोकको साबिक बाङथली-९ स्थायी घर भएकी वर्ष ३६ की कमला उप्रेती (अर्याल) ले अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाइएको हुँदा कानूनको रीत पुर्‍याई जनप्रतिनिधिहरुको रोहबरमा शिलबन्दी गरेको जनाइएको छ। यसपछि सम्बन्धित बिभाग र निकायहरुसंग समन्वय गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

 

प्रकाशित: २८ चैत्र २०७६ १०:५० शुक्रबार

परेली_आयुर्वेद_हाउस शिलबन्दी