समाज

परीक्षणको दायरा अझै बढाउन माग

काठमाडौं – कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलले मुलुकभित्र पहिलो संक्रमण देखिएको लामो समय बित्दासमेत सरकारले परीक्षणको दायरा नबढाएको भन्दै चिन्ता व्यक्त गरेको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित विभिन्न क्षेत्रका १७ जनाको उक्त सार्वजनिक पहलले बिहीबार अपिल जारी गर्दै परीक्षणको दायरा बढाउन आग्रह गरेको हो। 

प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै जारी अपिलमा संक्रमण देखिएका जिल्लाहरूमा र्‍यापिड मास–टेस्टको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरिएको छ। ‘संक्रमितको उचित उपचारका लागि अति संक्रमित जिल्ला, पालिका वा प्रदेश घोषणा गरी अस्पतालहरूमा आइसियु र भेन्टिलेटरको तत्काल उचित प्रबन्ध गरियोस्,’ अपिलमा भनिएको छ, ‘आइसियु र भेन्टिलेटरको संख्या थप्दै गर्दा स्वास्थ्यकर्मीहरूको सुरक्षा र तालिमका लागि पनि तीव्र तयारी गरियोस्।’परीक्षणका लागि हाल प्रयोगमा आएका वा अन्य स्वास्थ्य सामग्री र उपकरणको गुणस्तरीयताको बारेमा प्रश्न उठिरहेको जनाउँदै उनीहरूले परीक्षण विधि तथा प्रक्रिया विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित मापदण्डअनुरूप बनाउन आग्रह गरेका छन्।

स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को व्यवस्था प्रत्येक स्वास्थ्य चौकीसम्म उपलब्ध हुने गरी व्यवस्था मिलाउन भन्दै उनीहरूले पिपिईको प्रयोग कतिबेला, कस्तो बिरामी जाँच्दा गर्ने भन्ने बारेमा स्पष्ट मापदण्ड र निर्देशन जारी गर्नुपर्ने औंल्याएका छन्। गर्मीका कारण डेंगु, हैजालगायत अन्य महामारीको पनि जोखिम रहेको भन्दै उनीहरूले त्यसतर्फ समेत सरकारको ध्यानार्कषण गराएका छन्। सार्वजनिक अपिलमा विपन्न र अशक्तलाई राहत, लामो समयसम्मको लक–डाउनले आर्थिक रूपमा कमजोर, शारीरिक रूपमा अशक्त, सुकुम्बासी, डेरावाललगायत समूहलाई जीविकोपार्जनमा समस्या हुने भएकाले त्यस्ता समूहको पहिचान गरी द्रुत गतिमा आवश्यक राहतको व्यवस्था गर्न भनिएको छ। 

खेतीपातीको निरन्तरता र कृषि उपजका विषयमा चासो राख्दै उनीहरूले राष्ट्रिय अर्थतन्त्रमा कृषिको भाग २७ प्रतिशतमा खुम्चिएको र गाउँघरका खेतबारी बाँझो रहेकोले नयाँ कृषि पुनरुत्थान कार्यक्रम ल्याउन सुझाएका छन्। सुरक्षाकर्मी तथा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनेको सुरक्षा तथा सेवा–सुविधाको उचित व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। यसैबीच, नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको मुलुकको अर्थतन्त्रका विषयमा विज्ञहरूसँग छलफल थालेका छन्। पौडेलले बिहीबार योजना आयोगका पूर्वउपाध्यक्षहरू गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाईलगायतसँग कसरी अर्थतन्त्र उकास्न सकिन्छ भनेर छलफल गरेका छन्। विज्ञहरूले कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रित हुन सुझाएको पौडेलको सचिवालयले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७६ १०:२६ शुक्रबार

कोरोना संक्रमण परीक्षण