समाज

सांसद यादव, पत्रकार र गाडीचालक क्वारेन्टाइनमा

वीरगन्ज – वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलस्थित भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई भेट्न गएका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित चार जनालाई सेल्फ–क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ। सांसद यादव, रिपोर्टिङका लागि गएका दुई जना पत्रकार र एक जना चालकले जिल्ला स्थानीय प्रशासनको निर्देशनमा सेल्फ–क्वारेन्टाइनमा बस्नुपरेको हो। 

सांसद यादव, नागरिककर्मी रितेश त्रिपाठी, इमेज टेलिभिजनका पत्रकार अनिल तिवारी बुधबार सीमावर्ती भारतीय भूमिमा पुगेर क्वारेन्टाइनमा बसेका नेपालीलाई भेटेका थिए। उनीहरूलाई लिएर गएका गाडीचालक हिरामन पटेल पनि क्वारेन्टाइनमा बस्नुपरेको हो। ‘तपाईहरू हिजो सीमापारि पुगेर क्वारेन्टाइनमा पसेर फर्किनुभएको रहेछ,’ पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बिहीबार बिहानै टेलिफोन गरेर भने, ‘कतै बाहिर ननिस्किदिनुहोला, आफैं क्वारेन्टाइन भएर बस्नुपर्ने हुन्छ। बाहिरका कुनै व्यक्तिको सम्पर्कमा तपाईहरू नआउनुहोला।’

रक्सौल गएर आएकाहरूलाई क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन कार्यालय पर्सालाई गृह मन्त्रालयले निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सांसद यादवले जिल्ला प्रशासनको अनुरोधपछि आफू घरभित्रै क्वारेन्टाइन भएर बसिसकेको बताए। पत्रकार तिवारीले पनि प्रशासनमार्फत प्रप्त निर्देशन पालना गर्दै सेल्फ–क्वारेन्टाइनमा बसेको जनाए। यसरी समाचार संकलनको क्रममा भारत पुगेर फर्किएपछि हामी दुई पत्रकार क्वारेन्टाइनमा बस्नुपरेको छ। 

प्रकाशित: २८ चैत्र २०७६ १०:१८ शुक्रबार

नागरिक क्वारेन्टाइनमा निर्देशन