समाज

लकडाउनमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि हातपात

रौतहट- रौतहटमा एक जना असईमाथि हातपात भएको छ। लकडाउनको अवधिमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि आक्रमण भएको हो।

रौतहटको परोहा नपास्थित तेजापाकड मस्जिदमा मुस्लिम समुदायका सयौँ मानिस भेल भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी लौकाहाबाट असई मुनमुन सिंह पुगेर भीडभाड नगर्न र लकडाउनको नियम पालन गर्न आग्रह गरेका थिए। करिब दुई सय जनाको संख्यामा मस्जिदमा उपस्थित मुस्लिम समुदायमध्ये तीन जना युवाले असई सिंहमाथि आक्रमण गर्न पुगेका थिए।

लकडाउनको अवधिमा भीडभाड नगर्न सरकारले नै जारी गरेको सूचनालाई बेवास्ता गरेकामा सम्झाउन पुगेका असई सिंहमाथि आक्रमण भएपछि प्रहरी परिचालन भएको थियो। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि भीड हटेको थियो। असई सिंहमाथि आक्रमण गर्ने तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा परोहा नपा ३ का २६ वर्षीय कलाम अन्सारी, १७ वर्षीय साजिद अन्सारी तथा १६ वर्षीय लालु अन्सारी रहेका छन्। सबैलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपि रविराज खड्काले बताएका छन्।

प्रहरी परिचालन भएपछि तेजापाकडको अवस्था सामान्य रहेको छ। प्रहरीले भीडभाड हुन सक्ने अन्य ठाउँलाई पनि निगरानी गरिरहेको रौतहट प्रहरी प्रमुख एसपि खड्काले बताएका छन्।

प्रकाशित: २८ चैत्र २०७६ १०:१६ शुक्रबार

असई हातपात लकडाउन