काठमाडौं - अढाइ दशकदेखि स्वास्थ्य कार्यालयमा कार्यरत कागेश्वरी–मनोहरा नगरपालिकाकी रामप्यारी थापाले जागिरको क्रममा विभिन्न समस्याहरूको सहजै समाधान निकालिन्। विगत तीन सातादेखि भने उनलाई छोरीको एउटै प्रश्नले बारम्बार हैरान पारिरहेको छ।‘ममी, एक साता कहिले सकिन्छ ?’ भन्ने सात वर्षीया छोरी प्रकृतिको प्रश्नको जवाफ दिन उनलाई गाह्रो परेको छ। कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन सुरु भएपछि उनी बिरामीको उपचार र परिवारिक स्वास्थ्यको चिन्ताका कारण कागेश्वरी–मनोहरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमै बस्दै आएकी छिन्।
‘एक साता, एक साता, भन्दै छोरीलाई ढाँट्न थालेको पनि तीन साता भइसक्यो,’ रामप्यारी भन्छिन्, ‘यो क्रम कहिलेसम्म रहने हो थाहा छैन।’आफूसँग राख्न नमिलेपछि छोरीको न्यास्रो मेट्न उनले माइतीघरकी आमाको जिम्मा छोरीलाई राखेकी छिन्। त्यसो त उनी काम गर्ने स्वास्थ्य केन्द्र र छोरी बस्दै आएको घरको दूरी एक किलोमिटर पनि छैन तर कोरोनाले बढाएको दूरी उनको लागि हजारौं किलोमिटरभन्दा लामो भएको छ। छोरीले रोएर हैरान गरेपछि कहिलेकाहीं मास्क र पन्जा लगाएर भेट्न जाने गरेको उनले सुनाइन्। त्यस्तो बेला उनी छोरीभन्दा केही पर गएर बस्छिन्। छोरीको मुखमा हेर्छिन्। छोरी पनि आमालाई निकैबेर एक टकले हेर्छिन्।
तर यो अवस्था पनि सहज नहुने उनी सुनाउँछिन्। ‘मलाई देख्नेबित्तिकै ऊ खुसीले रुन्छे,’ उनले भनिन्, ‘फर्किंदा फेरि दुःखले डाँको छोड्छे।’ यो रामप्यारीको मात्र होइन, कोरोनाका कारण दिनचर्या प्रभावित भएका हजारौं नर्स र अनमीले भोग्नुपरेको साझा कथा हो। हालसम्म ६० हजार सात सय ९५ नर्स, ३३ हजार सात सय २४ अनमी र आठ सय ४४ विदेशी नर्स गरी ९५ हजार तीन सय ६८ जना नेपाल नर्सिङ परिषद्मा दर्ता भएका छन्। कोरोना महामारीका कारण रोग देखापरेको तथा नपरेको सबै ठाउँमा सरकारले स्वास्थ्यकर्मीलाई विशेष तयारीका साथ राखेको छ। कतिपय ठाउँमा प्रोत्साहन भत्ता दिएर चौबीस घण्टा ड्युटीको व्यवस्था गरेको छ। नर्सहरू पनि आफ्नो परिवारभन्दा बिरामीको सेवामा तल्लीन छन्। उनीहरू आफू सुरक्षित रहेर बिरामीको जाँच, सुसार गर्ने तथा मनोबल बढाउने काममा लागिपरेका छन्। तर यसमा तालमेल मिलाउन कतिपयलाई भने निकै कठिन भइरहेको छ।
एक साता, एक साता भन्दै छोरीलाई ढाँट्न थालेको पनि तीन साता भइसक्यो। रामप्यारी भन्छिन्, ‘यो क्रम कहिलेसम्म रहने हो थाहा छैन ।’
यस्तै पीडामा छिन् उनीसँगै कार्यरत स्वास्थ्यकर्मी सीता एमसी। अर्घाखाँची ढाकावन घर भएकी सीता चार वर्षदेखि प्राथमिक स्वास्थय केन्द्रमा कार्यरत छिन्। अढाइ वर्षको छोरालाई स्तनपान गराउनुपर्ने भएका कारण उनी ड्युटी सकिएलगत्तै नुवाइधुवाई गरेर घर जाने गरेको सुनाउँछिन्। ‘केही दिन त उसलाई नछुने कोसिस गरे तर मान्दै मानेन,’ उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धी सबै तयारी पूरा गरेर उसलाई भेट्ने गरेकी छु।’मुलुकका कतिपय अस्पतालबाट साना नानीहरूलाई लामो समय भेट्न नपाएका नर्सहरूको कथा पनि आउन थालेका छन्। उनीहरूले देखाएको कामप्रतिको सेवाभावको विभिन्न ठाउँबाट तारिफ हुन थालेको छ। नेपाल नर्सिङ परिषद्ले यसै साता विज्ञप्ति प्रकाशित गर्दे कोरोना माहामारीको यस कठिन परिस्थितिमा नर्स तथा अनमीले देखाएको कामप्रतिको धैर्य र सेवाप्रतिको योगदानको कदर तथा सम्मान व्यक्त गरेको छ। आगामी दिनमा पनि उच्च मनोबल, दृढ इच्छाशक्ति र पेसागत मर्यादा कायम राख्दै आफ्नो कर्तव्यमा लाग्न सबै नर्स तथा अनमीमा अनुरोध गरेको छ।
प्रकाशित: २८ चैत्र २०७६ ०९:०० शुक्रबार