समाज

वीरेन्द्रनगरका जनप्रतिनिधिले घर भाडा नलिने

वीरेन्द्रनगर - नेपाल सरकारले गरेको निर्णयलाई सघाउ पु¥याउन वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिले आफ्नो घरको घर भाडा नलिने भएका छन्। वीरेन्दनगर नगरपालिकाको कार्यपालिकाको बैठकले एक महिनाको घर भाडा नलिने निर्णय गरेको हो।

नगरपालिकाको उक्त निर्णयलाई नगरवासीले प्रशंसासमेत गरेका छन्। वीरेन्द्रनगर नगररपालिकाअन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले चैत महिनाको घर भाडा मिनाह गर्ने निर्णय भएको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले जानकारी दिइन्। साथै नगर क्षेत्रभित्र आफ्नो घर बहालमा दिने अन्य घर धनी महानुभावलाई समेत एक महिनाको भाडा मिनाह गर्न आग्रह गरिएको उनको भनाइ छ।

साथै वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र हालसम्म विभिन्न वडामार्फत करिब ६ हजार घर परिवारलाई राहत वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ। ‘नगरक्षेत्रका स्थायी बासिन्दालाई राहत वितरण गरिसकेपछि छुट भएका र अस्थायी बासिन्दालाई तत्पश्चात् क्रमशः वितरण गर्छाैं,’ उनले भनिन्। विदेशबाट आई हालसम्म नगर क्षेत्रभित्र आआफ्नो होम क्वारेन्टाइनमा बसेका विभिन्न एक सय ९५ जना व्यक्तिलाई स्वास्थ्यकर्मीबाट नियमित निगरानी गरिएको उपमेयर ढकालले जानकारी दिइन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हजारौं सर्वसाधारण घर भाडामा बस्ने गरेका छन्। 

 

प्रकाशित: २८ चैत्र २०७६ ०७:३२ शुक्रबार

जनप्रतिनिधि घर_भाडा लकडाउन काेराेना