समाज

बागलुङमा पहिलो दिन १४ को परीक्षण

गलकोट - बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि शुरु भएको दु्रत परीक्षण (र्‍यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ।बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्‍यापिड टेष्ट किट  र अन्य सामग्रीसहित बागलुङ आएको थियो।

सामग्रीसहित बागलुङ आउनुभएका स्वास्थ्य सेवा विभागका वरिष्ठ  मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धवलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षणको शुरुवात गरेका  थिए।धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा र्‍यापिड टेष्ट शुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए।

पौडेलका अनुसार एक हजार जनाको दु्रत परीक्षण र्‍यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क सामग्रीसमेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ। टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो। अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको र्‍यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुआत गरिएको हो।

नमूनाको रुपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो।किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने छ। कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। हाल बागलुङमा दुई कोरोना भाइरसका सङ्क्रमित छन्। उनीहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ। रासस

प्रकाशित: २७ चैत्र २०७६ १४:५९ बिहीबार

कोरोना परीक्षण